८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

२१ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते विश्वासको मत लिने भएका छन्। प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतको प्रस्ताव राख्न लागेका हुन्।

‘औपचारिक कार्यक्रम तय भइसकेको छैन, तर असार २८ गते लिनेगरी तयारी गर्न प्रधानमन्त्रीको सचिवालयसँग कुरा भएको छ,’ संसद सचिवालय स्रोतले भन्यो।

बुधबार नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ समीकरण बनाउँदै सरकार र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो। अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले विश्वास मत लिन लागेका हुन् ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १४:५९