नेकपाका चारभाइको बैठक बहिष्कारबारे महासचिव पाैडेलले दिए यस्तो प्रतिक्रिया
२२ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा चार नेताले बहिष्कार गरेको घटना अहिले चर्चाको विषयमा छ । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले समयमा बैठक शुरु नभएको भन्दै बाहिरिनु भएको हो । बाहिरिने बेलामा प्रवक्ता श्रेष्ठले महासचिव विष्णु पौडेललाई म्यासेज गरेर बाहिरिनु भएको खुलेको छ । महासचिव पौडेलको भनाईमा बैठकमा के भएको थियो –
‘पार्टीको सचिवालय बैठक तीन बजेका लागि तय भएको थियो । अध्यक्षद्धय बैठकको तयारीका शिलशिलामा २ बजेदेखि नै यही हुनुहुन्थ्यो । बैठक स्थलकै आसपास हुनुहुन्थ्यो । ठिक्क तीन बजे बैठक बस्ने भन्ने तयारी हो । म बैठक स्थलमा ठिक्क तीन बजे आईपुगेको थिए । म आईपुग्दा कमरेड माधव नेपाल मात्र हुनुहन्थ्यो । मैले उहालाई अध्यक्षद्धय अर्को कोठामा रहेको र परामर्शमा रहनु भएको छ, बैठक शुरु हुने बेलामा उहाँ आउनु हुन्छ भन्ने जानकारी गराए । मेरो चाही सानो प्रिन्टिङको काम छ भनेर कम्युप्टरतर्फ लागे ।
त्यसपछि झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ आउनु भयो । उहाहरु सवा तीन बजेसम्म बस्नुभयो । नारायणकाजी कमरेडले मलाई म्यासेज लेख्नु भएको छ, ३.१५ मिनेटसम्म पनि बैठक शुरु हुने स्थिति नभएकाले म निस्किए भनेर म्यासेज लेख्नु भएको छ । उहाहरु ३ बजेर १५ मिनेटमा बैठक कक्षबाट बाहिरिनु भयो ।

हामी चाही अचम्मित भएका छौं, यस्तो किन गर्नुभयो भनेर कारण बुझ्नै सकिएको छैन । भएको के थियो भने, अध्यक्षहरु माथी अर्को कोठामा हुनुहुन्थ्यो । बैठक कक्षतर्फ आउदै गर्दा उदयपुर जिल्लाबाट २०६४ सालको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित संविधानसभाका सदस्य मणि खम्बु हुनुहुन्थ्यो । निर्वाचनमा अत्यन्त जुझारु योद्धा हुनुहुन्थ्यो । उहाको श्रीमान् वित्नु भएको छ, उहा एक महिला पनि हुनुहुन्छ । उहाले पार्टीलाई निक्कै ठुलो योगदान गर्नुभएको छ ।
पार्टीको माध्यमबाट उहाँले देश र जनताका लागि ठुलो योगदान दिनु भएको छ । अहिले उहा क्यान्सरबाट पिडित हुनुहुन्छ । क्यान्सर पिडित भएकाले उहाले केही कुरा राख्न चाहानु भएको थियो । त्यसपछि अध्यक्षद्धयले १० मिनेटमा कुरा राख्न उहालाई समय दिनुभयो । त्यसक्रममा उहाहरु (अध्यक्षद्धय) ले स्वास्थ्य स्थिति र उपचारका बारेमा जानकारी लिनु भयो । त्यस प्रयोजनका लागि करिव १० मिनेटको समय तय भएको हो । उहासग भेटघाट सकेर भेट्न आएका अन्य आगन्तुकलाई अहिले समय नरहेको भनेर उहाहरु बैठक कक्ष प्रवेश गर्दै गर्दा चार जना कमरेडहरु बाहिरिसक्नु भएको थियो । यो घटना यत्ति नै भएको हो ।
तय गरेको समयभन्दा १५ मिनेट ढिलो भएको सत्य हो । अध्यक्ष कमरेडहरु तीन बजेर ५ मिनेट जाँदा बैठक कक्ष प्रवेश गर्ने तयारीमा हुनुहुन्थ्यो । त्यही विचमा कमरेड मणिसग भेट भयो । उहाको कुरा सुन्दा खेरी ३.१५ देखि ३.१७ जस्तो समय भएको थियो । त्यो विचमा उहाहरु गईसक्नु भएको थियो । उहाहरुले अर्को बैठकमा कुराहरु राख्नु होला त्यसपछि के भएको हो सबै कुरा थाहा होला । अहिले कुनै टिप्पणी गर्नु उपयुक्त हुदैन् । ’
प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार २०:५३












