१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

‘वनको बाँदर वनैमा’ कार्यक्रम सफल पार्न जङ्गलमा फलफूल रोपिने

६ असार, गोरखा । गोरखाको पालुङ्टार नगरपालिकाले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रणका लागि ‘वनको बाँदर वनैमा’ कार्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाले सार्वजनिक गरेको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा बाँदरबाट बाली जोगाउन नयाँ नीति लागू गर्ने तयारी गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

‘‘नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा किसानले लगाउँदै आएका खेतीबालीमा बाँदर, दुम्सी, मृगलगायतका वन्यजन्तुले बढी क्षति पु-याउने गरेको छ”, उहाँले भन्नुभयो, ‘‘त्यसका लागि समयमा नियन्त्रणको थालनी नगरे यहाँका किसानहरु कृषि पेशाबाट विस्थापित हुने अवस्था छ ।’’

जङ्गली जनावरबाट बाली जोगाउँदा जनावरको अधिकारको ख्याल गरी प्राकृतिक उपायहरु अवलम्बन गर्ने नीति नगरपालिकाले लिएको छ । ‘‘कार्यक्रम कार्यान्वयनका लागि नगरक्षेत्र भित्र बाँदरको बढी प्रकोप भएका क्षेत्र पहिचान गरिनेछ”, नगरप्रमुख चिन्तनले भन्नुभयो, ‘‘सोही आधारमा बाँदरलाई जङ्गलमै रोक्न आवश्यक पहल गर्ने गाउँपालिकाको नीति छ ।’’

कार्यक्रमअन्तर्गत बाँदरलगायत वन्यजन्तुबाट अन्नबाली जोगाउन जङ्गलमा फलफूल तथा बोट विरुवा लगाउने योजना छ । बढी प्रकोप रहेका क्षेत्रका किसानलाई बाँदरलगायतका बन्यजन्तुले नष्ट नगर्ने किसिमका बाली लगाउन प्रोत्साहनसहितको कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

“नगरपालिकाको कतिपय क्षेत्रमा खुर्सानी, अदुवा, जौ, बेसार, टिम्मुर, कागती, कटहरजस्ता बालीको सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, ‘‘यस्ता बालीबाट प्रशस्त आम्दानी गर्न सकिने र वन्यजन्तुले पु¥याउने क्षतिबाट जोगाउन सकिने भएकाले आगामी आवमा नगरपालिकाले वन्यजन्तुको प्रकोप बढी भएको क्षेत्रमा यस्ता बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।’’

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार २२:०४