८ असार २०८३, सोमबार | Mon Jun 22 2026

कम्युनिष्ट एकताले मात्रै जनताको सपना पूरा गर्नसक्छः उपाध्यक्ष सापकोटा

६ असार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प नरहेको बताउनुभएको छ । उहाँले समाजवादी व्यवस्था कम्युनिष्टको बलियो उपस्थितिमा मात्रै सम्भव हुने बताउनुभयो ।

४७औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३३औँ किसान सङ्घर्ष दिवसको अवसरमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सापकोटाले आफ्नो पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले आशा जगाएको जिकिर गर्नुभयो । पार्टीका प्रवक्ता सापकोटाले जनताले स्थायी सरकार र सत्ता चाहेकाले कम्युनिष्ट एकताले मात्रै जनताको सपना पूरा गर्ने धारणा राख्नुभयो ।

पछिल्लो समयमा सस्तो लोकप्रियतावादीहरुले जनतामा भ्रम फैलाएको बताउँदै उहाँले भन्नुभयो, “लोकप्रियतावादीहरुले ठूलठूलो स्वरमा देश भक्तिको नौटङकी गरिरहे पनि त्यसको वास्तविक पहरेदार माओवादी मात्रै हो भ्रमित हुनुहुँदैन ।” आयोजक सङ्गठन अखिल नेपाल किसान महासङघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले जुगेडी किसान विद्रोहको स्मरण गर्दै अहिले पनि जनतालाई शोषण र दमन गर्र्ने प्रक्रिया नरोकिएकोप्रति रोष व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : June 20, 2024 at 10:00 pm