१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन सकेनः महासचिव पाेखरेल 

३० जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन नसकेको बताएका छन् । आज ललितपुरको महालक्ष्मी नगरकमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले प्रधानमन्त्री एक वर्ष पनि नटिक्ने र एउटा मन्त्रीले छ महिना पनि काम गर्न नपाउने अस्थिर राजनीतिक अवस्थाले देशको प्रगतिमा व्यवधान सिर्जना गरेको धारणा राखे ।

“छिमेकी देश भारतमा नरेन्द्र मोदी र चीनमा सी जिनपिङ तीन कार्यकाल लगातार सरकार प्रमुख बन्ने तर नेपालमा प्रजातन्त्रपछि २८ जना प्रधानमन्त्री हुनु सबैभन्दा विडम्बना हो । यस्तो अस्थिरताले देश बन्दैन”, उनले भने । महासचिव पोखरेलले अमेरिकामा सबैभन्दा पुरानो दलले हालसम्म नेतृत्व गर्ने तर नेपालमा निर्वाचनपिच्छे जनताले नयाँ खोज्ने बानीले पनि अराजकतालाई प्रश्रय दिएको जिकिर गरे । विचार र सिद्धान्त भएका पार्टीमा नयाँ नेतृत्व खोजेर अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।

पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्यहरु हरिकृष्ण ब्यञ्जनकार र बाबुराम थापा, ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलगायतले सम्बोधन गरेका थिए । दुई सय जना प्रतिनिधि रहेको उक्त अधिवेशनबाट ७५ सदस्यीय कमिटी निर्वाचित गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १८:३१