११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

बजेट कार्यन्वयनमा इमान्दारिताको आवश्यकता


२८ जेठ, काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि विनियोजन गरिएको बजेटको प्रभावकारी र इमान्दारितापूर्वक कार्यनवयन हुनुपर्नेमा जोड दिएका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनिहरुले बजेटको सही रुपमा कार्यन्वयन हुनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रियसभाको विषेश समयमा बोल्दै राष्ट्रियसभा सदस्य सुरेशकुमार आलेमगरले बजेट कार्यान्वयनका लागि इमान्दारिताको आवश्यकता पर्ने बताए । उनले भने, “इमान्दारीपूर्वक पुँजीगत खर्च गरी विकास निर्माणको प्रभावकारी काम अगाडि बढाउन आवश्यक छ ।” बिक्रेताले बिक्री गर्दा र क्रेताले किन्दा मात्रै भ्याट बिल आवश्यक पर्ने तर नेपाल प्रहरीले सर्वसाधारणलाई अनावश्यक रुपमा दुःख दिइरहेको भन्दै उनले दोषीलाई कारबाहीको माग गरे ।

राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुङ्गानाले राजनीतिक दल मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए । फास्ट ट्र्याकमा ऐन बनाउन आवश्यक रहेको उनको भनाइ थियो । सांसद ढुङ्गानाले सबै काम छाडेर सङ्घीयतालाई बलियो बनाउन ऐन कानुन निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे । “अव गणतन्त्रलाई बलियो बनाउन सबै सजग र सचेत तथा संवेदनशील हुनुपर्छ,” उनले भने ।

सांसद गोमादेवी तिमल्सिनाले हावाहुरीका कारण बालीनालीमा क्षति पुगेको भन्दै यसबापत राहत पाउनुपर्नेमा जोड दिएकी छिन् । उनले विभिन्न कारणले सञ्चालनमा आउन नसकेका रुग्ण रहेका उद्योग सञ्चालनमा ल्याउनुपर्ने गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

सांसद राधेश्याम पासवानले संविधानमा व्यवस्था भएको स्वास्थ्यसम्बन्धी हकको व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सांसद नारायदत्त भट्टले मनसुन नजिकिँदै गर्दा यस वर्षको मनसुन अवधिमा १८ लाख मानिस बाढीपहिरोबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको उल्लेख गर्दै क्षति न्यूनीकरण गर्न पूर्वतयारी थाल्नुपर्ने बताए ।

सांसद गोपाल भट्टराईले भूकम्पबाट भत्किएका घर पुनःनिमाणको काम समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिए । सांसद गङ्गाकुमारी बेल्बासेले ज्येष्ठ नागरिकको सङ्ख्या बढिरहेको र उनिहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन् । “ज्येष्ठ नागरिकको हक अधिकारको सुरक्षा हुनुपर्छ, उनिहरुको स्वास्थ्य उपचारको व्यवस्था हुनुपर्छ,” उनले भनिन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार १६:३४