२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

बाह्रबिसेमा ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती, पहिलो वर्ष ९ हजार किलो उत्पादन

२३ जेठ, काठमाडाैँ । जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती गर्न थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो । यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा रु सात सयदेखि एक हजारसम्म खरिद गरी ल्याइएको थियो । उनले भने, “पहिलो वर्षमै राम्रो उत्पादन भयो, यो वर्ष उत्पादन बढ्ने विश्वास छ ।” अङ्गुरखेतीका लागि रु एक करोड ५० लाख लगानी भएको छ । यहाँ उत्पादित अङ्गुर धादिङमा पठाउने गरिएको छ ।

धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरी वाइन उत्पादन हुँदै आएको कार्कीले बताए । कम्पनीले धादिङमा रु ३८ करोड ५० लाखको लागतमा अङ्गुरखेतीसँगै ‘वाइन’उत्पादन गर्दै आएको हो ।

कार्कीले भने, “कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।”फार्ममा ३२ प्रजातिका अङ्गुरखेती गरिए पनि आठदेखि १० प्रजातिका अङ्गुरबाट मात्र मनग्य उत्पादन भएको उनले जानकारी दिने ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार १०:११