३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवक खटाउने गृहमन्त्रीको निर्णय राेक्न सर्वोच्चको आदेश

२० जेठ, काठमाडाैँ । गृहमन्त्री रवि लामिछानेले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने निर्णय अहिले कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार सर्वोच्चले गहमन्त्रीको उक्त निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक उल्लंघनकर्तालाई ट्राफिक स्वयंसेवी बनाउने मन्त्रीस्तरिय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हाे। ट्राफिक प्रहरीले शारीरिक दण्ड दिएको भन्दै चालकहरू कृष्ण विक, आकाशकुमार भट्ट, रवीन्द्र पौडेल, प्रमेस पौडेल, उज्ज्वल माली, इमामुल हक, राजु परियारसहितले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

रिटमा गृह मन्त्रालय, काठमाडौँ उपत्यका प्रहरी ट्राफिक महाशाखा, प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको थियो । उनीहरूको रिटमा सवारी तथा यातायात ऐनको दफा १६४ ले ट्राफिक नियम उल्लंघन गरेबापत जरिवानामात्र तिराउन सक्ने भने पनि प्रहरीले भने शारीरिक दण्ड दिएको उल्लेख थियो।

गणतन्त्र दिवसका दिन गृहमन्त्री रवि लामिछानेले मादक पदार्थ सेवन गर्ने लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा स्वयंसेवकका रूपमा खटाउने निर्देशन दिएका थिए । महिला ट्राफिकहरूलाई महिनावारीको समयमा राहत स्वरूप उक्त निर्णय गरेको उनले बताएका थिए।

प्रकाशित मिति : June 2, 2024 at 6:01 pm