विर्तामोडस्थित हस्पिटलकाे उपचारपछि ४६ बर्षिया मनसरी आङ खस्ने समस्याबाट मुक्त
१५ जेठ, काठमाडाैँ । कचनकबल गाउँपालिका–३ की ४६ वर्षीया मनसरी राजवंशी चिकित्सकले चुराजस्तो वस्तु पाठेघरमा राखिदिएपछि आङ खस्ने समस्याबाट मुक्त भएकी छिन् ।
अहिले उनि सहजरुपमा आफ्नो दैनिकीमा फर्किएकी छिन् । “पिसाब चुहिन्थ्यो र पिसाब घर गन्हाउँथ्यो”, उपचार अघि भोगेको पीडा सुनाउँदै उनि भन्छिन्, “जति नुहाए पनि शरीरबाट दुर्गन्ध आइरहन्थ्यो, पाहुना भएर आफन्त र छिमेकीको घर जान पनि छाडिसकेको थिएँ, घरको धन्धा र खेतबारीको काम गर्दा निकै शारीरिक पीडा हुन्थ्यो ।”
विर्तामोडस्थित बीएन्डसी टिचिङ हस्पिटलमा उपचार गराएपछि उनि अहिले पीडामुक्त भएको बताउछिन् । वर्षौंसम्म रोग लुकाएर बसेका कारण उपचार पाउन ढिलो भएको उनले स्वीकार गरिन् । मनसरी जस्तै वर्षौंसम्म रोग लुकाएर पाठेघर (आङ) खस्ने समस्याको पीडा भोगिरहेका महिला समाजमा थुप्रै रहेको स्त्री रोग तथा क्यान्सर विशेषज्ञ डा ज्योति भजु लामा बताउनुहुन्छ । उनले धेरैजसो महिला लामो समयसम्म रोग लुकाएर सास्ती भोगेपछि अन्तिममा मात्र उपचारका लागि अस्पताल धाउने गरेको बताइन् ।
उनले नेपालमा १० देखि २० प्रतिशत महिलाले आङ खस्ने स्वास्थ्य समस्या भोगिरहेका र धेरैजसो उपचारको पहुँचभन्दा बाहिर रहेको जानकारी दिइन् । धेरै सन्तान जन्माउने, सानो उमेरमा बिहे गर्ने, सुत्केरीका बेला भारी काम गर्ने, कब्जियत हुने र धेरै सुर्ती सेवन गर्ने महिलालाई आङ खस्ने समस्या देखापर्ने गरेको उनले बताइन् ।
रोग लुकाएर बस्ने बानीले घाउ पाकेर अल्सर हुने जनाउँदै उनले पहिलो चरणमै समस्या थाहा भएमा फिजियो थेरापीबाटै र अरू चरणका बिरामीलाई सिलिकन रिङ लगाएर तथा शल्यक्रिया गरेर उपचार गरिने बताइन् । “गरिबी छ, उपचार गर्ने पैसा छैन, उपचार गराउन धेरै खर्च हुन्छ भन्ने चिन्ता छ”, पीडित महिलाको समस्याबारे उनि भन्छिन्, “आङ खस्ने समस्या भएका महिलालाई छिटोभन्दा छिटो उपचारमा लैजानुपर्ने हुन्छ, ढिलो गर्यो भने शल्यक्रिया गरेरै पाठेघर फाल्नुपर्ने अवस्था आउन सक्छ, बेलैमा अस्पताल पुग्दा औषधिबाटै उपचार गर्न सकिन्छ ।”
लायन्स क्लब अफ बिर्तामोड लेडीले सोमबार विर्तामोड–६ बुट्टाबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा ८१ महिलाले पाठेघर जँचाएका थिए । त्यसमध्ये ११ महिलामा आङ खस्ने समस्या पाइएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु ओलीले जानकारी दिइन् ।
पाठेघरसम्बन्धी सचेतना तथा पाठेघरको मुखको क्यान्सर जाँचका लागि उक्त शिविरको आयोजना गरिएको थियो । विर्तामोडका नगरप्रमुख पवित्रा महतराले आङ खस्ने समस्या भोगिरहेका महिलालाई आर्थिक विपन्नता उपचारको बाधक नबनोस् भन्नेमा नगरपालिका सचेत रहेको जनाउँदै महिलाले पनि रोग लुकाएर समस्या समाधान हुँदैन भन्ने बुझ्न आवश्यक रहेको बताइन् ।
स्वास्थ्य पत्रकार एवं हेल्थ आवाज अनलाइनका सम्पादक भिषा काफ्ले प्रत्येक नेपाली महिलालाई सुरक्षित प्रजनन हक र हरेक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक रहेको बताउछिन् । उनले राज्यले आफ्नो बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउनुपर्ने बताइन् । स्थानीय सरकारका रुपमा रहेका पालिकाले पाठेघरको मुखको क्यान्सर जाँच र आङ खस्ने समस्याको उपचार गराउन सक्रिय पहल गर्नुपर्ने उनको धारणा छ ।
प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:४१










