१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

रुपन्देहीमा २०७ उद्योगले कार्यालयबाट लगत कट्टा गराए

१४ जेठ, काठमाडाैँ । रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०÷८१ मा दुई सय सात उद्योग बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् । गत आवमा यसरी लगत कट्टा गराउने उद्योगको सङ्ख्या दुई सय १७ रहेको थियो ।

कार्यालय प्रमुख भुसालले आर्थिकमन्दीको असर रुपन्देहीमा पनि देखिएको बताए । उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको उनले बताए । “उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता गराउने क्रम पनि घट्दै गएको छ”, उनले भने, “आव २०७९÷८० मा एक हजार एक सय ३० उद्योग दर्ता भएकामा चालु आवमा सात सय २९ मात्र दर्ता भएका छन् ।”

उद्योगमात्र हैन वाणिज्यतर्फको अवस्था पनि उस्तै छ । गत आवमा एक हजार तीन सय चार व्यवसाय दर्ता भएकामा चालु आवमा हालसम्म एक हजार एक सय ७५ वटा मात्र दर्ता भएका छन् । आव २०७९÷८० मा व्यवसाय बन्द गराउनेको सङ्ख्या १९ वटा रहेको थियो भने चालु आवमा हालसम्म २६ वटा व्यवसाय बन्द भएको प्रमुख भुसालले जानकारी दिए ।

आर्थिकमन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउछ । “रुपन्देही औद्योगिक केन्द्रको रुपमा रहेको छ, यहाँ ठूला–ठूला उद्योग छन्”, उनले भने, “कतिपय बन्द भइसके भने सञ्चालनमा रहेका पनि ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्ने अवस्थामा छन् ।”

रुपन्देहीमा रहेका १० सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन् । व्यवसाय र अन्य निर्माणजन्य उद्योगको अवस्था पनि नाजुक रहेको उनको भनाइ छ । सरकारले उद्योगी व्यापारीले राखेका सुझाव समयमै कार्यान्वयन गर्नुपर्ने उनको धारणा छ । अब आउने बजेटमा निजी क्षेत्रले उठाएका कुरा सम्बोधन हुनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : May 27, 2024 at 10:35 am