१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

नेकपाकाे प्रदेश कमिटीका पदाधिकारी र सदस्यको नाम अाज सार्वजनिक हुँदै

१६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे प्रदेश कमिटीका पदाधिकारी र सदस्यको नाम अाज सार्वजनिक हुँदैछ । महासचिव विष्णु पौडेलले ७ भौगोलिक र एक गैरभौगोलिक सहित ८ वटा प्रदेश कमिटीको नाम आज सार्वजनिक गर्दैछन् ।

 

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले प्रदेश कमिटी एकीकरणको अन्तिम टुंगो लगाएपछि अाज नाम सार्वजनिक गर्न लागिएको हो । सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै तोकिइसकेका छन् । अब सदस्यहरुको नाम सार्वजनिक भएसँगै प्रदेश कमिटीहरुले पूर्णता पाउने नेकपाले जनाएको छ । पेशागत, मजदूर, विद्यार्थी, युवा र उद्योगी व्यवसायीहरुको विशेष जिल्ला कमिटीलाई नेतृत्व गर्ने गरी विशेष प्रदेश कमिटी समेत गठन भएको छ ।

विशेष कमिटीलाई प्रदेश कमिटीको मान्यता दिने निर्णय भएको सचिवालय सदस्य ईश्वर पोखरेलले बताए । नेकपाका ७७ जिल्ला कमिटी बाहेक उपत्यकाभित्र ५ वटा विशेष जिल्ला कमिटीसमेत गठन हुँदैछन् ।

त्यस्तै, जिल्ला कमिटीका अध्यक्ष र सचिव केन्द्रबाटैञ तोकेर सदस्यहरुको टुंगो लगाउने जिम्मा प्रदेश कमिटीलाई दिने बताइएकाे छ ।सचिवालयमा छलफलपछि जिल्ला कमिटी अध्यक्ष र सचिवहरुको टुंगो लगाइदैछ । जिल्ला कमिटी सदस्य र जिल्ला कार्यालयको टुंगो भने प्रदेश कमिटीबाट लगाइने भएको छ । यसअघि नै सम्बन्धित जिल्लामा तत्कालीन एमाले र तत्कालीन माओवादीका पदाधिकारी रहेको कार्यदल बनाइएको छ ।

प्रदेश र जिल्ला कमिटी एकीकरणसँगै स्थायी तहको एकीकरण ती कमिटीहरुले लगाउने भएका छन् । जिल्ला कमिटी एकीकरणसँगै जनवर्गीय संगठनको पनि टुंगो लगाइँदैछ ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार १२:५३