२० पुष २०८१, शनिबार | Sat Jan 4 2025

कोठा भाडा तिर्न नसकेपछि ३ महिनादेखि छोरा छोरीहित ट्याक्सीमै बस्थे मृत भेटिएका कृष्ण

८ जेठ, काठमाडाैँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा मृत भेटिएका ५२ वर्षीय कृष्ण नगरकोटीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

ट्याक्सी चलाउने भक्तपुर नगरपालिका–७,​ छालिङका नगरकोटी मंगलबार बिहान मृत भेटिएका थिए । नगरकोटीको शव कालो कपडाले मुख छोपेको अवस्थामा फेला परेको थियो । उनको शव भेटिएपछि अनुसन्धान थालेको प्रहरीले उनका छोरालाई फर्पिङमा घाइते अवस्थामा फेला पारेको थियो । यस्तै प्रहरीले उनकी छोरीलाई पनि बबरमहलबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ । कृष्णका छोराछोरी दुवैकाे मानसिक अवस्था ठीक नभएको पाइएको प्रहरीले जनाएकाे छ ।

घाइते अवस्थामा फेला परेका छोराले पनि आत्महत्या प्रयास गरेको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार मृत भेटिएका कृष्ण १५ वर्ष अघिदेखि ट्याक्सी चलाउँदै आएका थिए । तीनैजना ३ महिनादेखि घर नगई ट्याक्सीमा नै खाने-बस्ने गर्दै आइरहेको खुलेकाे छ ।

८ वर्षअघि नै कृष्णकी श्रीमतीले दोस्रो बिवाह गरेको पाइएको छ । उनको श्रीमतीले छाडेर गएदेखि छोरी रश्मि र छोरा रिचेन काठमाडौंको रबि भवनमा कोठा भाडामा लिई बस्दै आएका थिए । कोठाकाे भाडा तिर्न नसकेपछि बिगत ३ महिनादेखि कृष्ण छोरा छोरी समेत ट्याक्सीमै बस्दै आएका थिए ।

प्रहरीका अनुसार हिजो बिहान १० बजे सेतो पुल नजिक ट्याक्सी बिग्रिएकोले मिस्त्री बोलाई ल्याउँछु भनेर छोरीटीलाई त्यही छाडेर कृष्ण छोरालाई साथमा लिई गएको पाइएको छ ।

छोरा रिचेनको बयान अनुसार पारिवारीक अवस्था, गरिबी लगायतले जिन्दगीवाट दिक्क लागेर कृष्णले छोरा समेतलाई आत्महत्याको लागि मुखमा कपडा राखी ब्लेडले घाटी काटने तरिका सिकाएर २ वटा ब्लेड र १२५ रुपैयाँ गाडी भाडा समेत दिई दक्षिणकाली नगरपालिकाकाे जंगलमा गई आत्महत्या गर्नु म पनि कुनै स्थानमा गै आत्महत्या गर्छु भन्ने खुलाएको छ ।

छोरा रिचेनको घाटी बाँया पट्टीवाट झण्डै ७र८ सेमी लामो ब्लेडले काटिएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । कृष्णको दाहिने हातको बुढीऔला र चोर औलामा ब्लेडले काटेको पाइएको छ । घटना स्थलमा कृष्ण नगरकोटीको लास नजिक ४ वटा ब्लेड र घाइते रिचेज नगरकोटीको साथवाट २ वटा ब्लेड फेला परेको थियो । कृष्णको मुखमा कपडा रहेको अवस्थामा फेला परेको साथै घाइते रिचेन नगरकोटीले समेत सोही तरिका अपनाएको पाइएको छ ।

बा १ ज। ९६५ नं। को ट्याक्सी र छोरी रश्मि नगरकोटीलाई खोज गर्ने क्रममा सेतोपुल सडक खण्डमा ट्याक्सी भित्र बसिरहेको अवस्थामा उद्धार गरी जिल्ला प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १५:२५