१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

काठमाडौँ–तराई फाष्टट्रयाक निर्माणकाे लागि सहज वातावरण बनाउन सरकारलार्इ सेनाकाे अाग्रह

१४ मंसिर, काठमाडौँ । नेपाली सेनाले ‘काठमाडौँ–तराई द्रुतमार्ग’ निर्माण कार्य अघि बढाउने सहज वातावरण बनाई दिन सरकारसँग आग्रह गरेको छ । ललितपुरमा रहेको खोकना र बुङमतीका स्थानीयले उचित मुआब्जालगायतका माग राखेर आन्दोलन गरिरहेका बेला नेपाली सेनाले स्थानीयको समस्या समाधान गरी सो द्रुतमार्ग निर्माण कार्य सहज ढंगले अघि बढाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको हो ।

संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा शुक्रबार दु्रतमार्ग निर्माण कार्य अघि बढाउन समस्या देखिएको उल्लेख गर्दै तत्काल खोकनावासीलाई उचित मुआब्जाको व्यवस्था गरेर सो द्रुतमार्ग निर्माण कार्यलाई सहज ढंगले अघि बढाउने वातावरण बनाइदिन सरकारसँग नेपाली सेनाले माग गरेकाे छ । द्रुतमार्गको प्रस्थान बिन्दु खोकना नै उपयुक्त रहेको निष्कर्ष पनि नेपाली सेनाले निकालेकाे छ ।

बुङमतीवासीले फर्सीडोललाई प्रस्थान बिन्दु बनाउने सहमति कार्यान्वयन गर्न दवाव दिइरहेका बेला नेपाली सेनाले भने खोकना नै उपयुक्त हुने निष्कर्ष संसदीय समितिमा सुनाएको हो । खोकनालाई प्रस्थान विन्दु बनाउँदा स्थानीयको जग्गा धेरै नपर्ने दावी पनि गरिएको छ ।

नेपाली सेनाले सो द्रुतमार्गकाे विस्तृत अध्ययन प्रतिवेदन माघ महिनाभित्र तयार हुने गरी काम भइरहेको पनि जानकारी दिएको छ । सेनाले सो द्रुतमार्गका लागि ९९ वटा पुल आवश्यक पर्ने पनि जनाएको छ ।

समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सो दु्रतमार्ग निर्माणको काम पारदर्शी ढंगले तोकिएको समयभित्र पूरा गर्न नेपाली सेनालाई सचेत गराए । उनले सो द्रुतमार्गको विस्तृत अध्ययन प्रतिवेदन छिटो तयार पार्नुपर्नेमा पनि जोड दिए ।

चार वर्षभित्र सम्पन्न गर्ने गरी द्रुतमार्ग निर्माणको जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको हो । तर ललितपुरस्थित खोकना र बुङमतीका स्थानीयले जग्गाको मुआब्जाको समेत व्यवस्था नगरेको भन्दै तत्काल सो द्रुतमार्ग निर्माणको काम अघि नबढाउन संसदीय समितिहरुलाई दवाव दिइरहेका छन ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार १७:२६