७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

आगामी आर्थिक वर्षको बजेटबाट लगानी दशक घोषणा गरिनुपर्छः चन्द्र ढकाल


२७ वैशाख, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजार माग र आपूर्ति दुवै घटेका कारण समग्र अर्थतन्त्र समस्यामा परेको बताए। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको पूर्व–बजेट छलफलका क्रममा अध्यक्ष ढकालले यस्ताे बताएका हुन् ।

उनले  सरकारले अध्यादेशमार्फत छोटो समयमा कानुन परिवर्तन गरेर लगानी वातावरण बनेको सन्देश दिएको दाबी गरे । आगामी आवको बजेटले निजी क्षेत्रका माग र सुझावलाई प्राथमिकतामा राख्नुपर्ने पनि उनले बताए । सरकारको बजेट र मौद्रिक नीतिबीच तालमेल र एकरुपता हुनुपर्ने सुझाव पनि उनले दिए । आगामी आर्थिक वर्षको बजेटबाट लगानी दशक घोषणा गरिनुपर्ने, ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने उद्योगलाई सहुलियत दिनुपर्ने उनको भनाइ थियो ।

बैंक तथा वित्तीय संस्थाको मर्जर र प्राप्तिमा लगाएको करले गलत सन्देश गएको पनि उनले बताए । त्यस्तै निजी क्षेत्रलाई नियमन र निगरानी गर्ने संस्था धेरै हुँदा समस्या भएको ढकालको बुझाइ थियो ।

“नियामक र निगरानी गर्ने संस्था धेरै भए । यसले निजी क्षेत्रलाई समस्यामा पारेको छ । धेरै वटा निकायबाट नियमन अनुगमन हुँदा समस्या छ”, उनले भने, “बैंक तथा वित्तीय संस्थाले धेरै पैसा कमाए भन्ने भाष्य बनेको छ । तर अहिले धेरै बैंक तथा वित्तीय संस्था समस्यामा छन् । उनीहरूका लागि केही विशेष व्यवस्था आवश्यक छ ।” सरकारको पुँजीगत खर्च कम भएको र खर्च भएको ठाउँमा पनि निर्माण व्यवसायीले भुक्तानी नपाउँदा समस्या रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार १२:५८