१२ पुष २०८१, शुक्रबार | Fri Dec 27 2024

बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री

२७ वैशाख, काठमाडाैँ । पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा  छन् । छाप्रामा तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छ भने कोही बिक्रीमा व्यस्त छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी तर्बुजा बेच्नेको भीड छ । महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरु यहाँ रोकिएर तर्बुजा खरीद गर्ने गर्छन् ।

कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले गत चैतदेखि राजमार्ग छेउमा तर्बुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थापेको हो । वनरा नदीको बगरमा तर्बुजा खेती गर्ने  चौधरी बर्सेनि राजमार्गमा छाप्रो बनाएर तर्बुजा बिक्री गर्दै आएको छ ।

“बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा तर्बुजा, काक्रा, फर्सी खेती गरेको छुँ । यसैबाट घरखर्च चलेको छ”, रामकृष्णले भने, “दैनिक रु तीन÷चार हजारको बिक्री हुन्छ ।” उनका अनुसार चैत महिनादेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर तर्बुजा बिक्री गर्ने गरिन्छ । हाल दैनिक १५÷२० क्विन्टल तर्बुजा बिक्री भइरहेको छ । प्रतिकिलोग्राम रु ५० का दरले तर्बुजा बिक्री हुने गरेको छ ।

“गाडामा राखेर गाउँतिर डुलाएर पनि तरकारी बेचिन्छ । बुवाआमाले पनि खेतीमा सघाएको छ”, उनले भने, “यो सिजनमा राम्रो आम्दानी हुन्छ ।” वनरा शिविरका सालिकराम राना पनि अचेल राजमार्गमा तर्बुजा बिक्री गरिरहेका भेटिन्छन् । उनले वनरा नदीको बगरमा सात कट्ठा क्षेत्रमा तर्बुजा खेती गरेको छ ।

“आफ्नो बारीमा तर्बुजा पाकेको छैन । अरुबाट रु ३० मा प्रतिकिलोग्राम किनेर रु ५० मा बेच्दैछौँ”, उनले भने, “केही दिनमा आफ्नै बारीको तर्बुजा तयार हुन्छ ।”वनरा पुल क्षेत्रमा तर्बुजा बेचेर जीविकोपार्जन गर्नेहरूमा अधिकांश मुक्तकमैया र आरक्ष पीडित छन् । “सुरुमा भारतीयहरूले बगरमा खेती गर्थे । उनीहरूबाटै हामीहरूले पनि बगरमा तरकारी खेती गर्न सिकेका हौँ”, सालिकराम भन्छ, “अहिले बगरमा भारतीय छैनन् ।”

माघदेखि बगरमा तर्बुजा खेतीका लागि तयारी थालिन्छ । चैत अन्तिम साता तयार भएपछि तर्बुजा बिक्रीका लागि बजार ल्याउने गरिन्छ । “अन्यत्र बिक्री गर्दा राम्रो मोल पाइँदैन । ढुवानी खर्च बच्ने हुनाले हरेक वर्ष राजमार्गमै तर्बुजा बेच्छौँ,” बासपति रानाले भने, “अरु बेला मजदुरी गरेर घरखर्च जुटाइन्छ ।”

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार १२:२४