१५ जेष्ठ २०८१, मंगलवार | Wed May 29 2024

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन


२५ वैशाख, काठमाडाैं । अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् ।

बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा उनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताए । त्यसका लागि नेपाल राष्ट्रबैंकसँग छलफल भइरहेको उनको भनाइ थियो । ‘सरकार र नियामक भनेकै राज्य हो । राज्यको उद्देश्य र नीति एउटै हुन्छ’, उनले भने, ‘नीति कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरिन्छ ।’

मन्त्री पुनले गत वर्षको तुलनामा यस वर्ष अर्थतन्त्र चलायमान भएको र चालु आर्थिक वर्षभन्दा आगामी वर्ष थप चलायनमा हुने गरी बजेट ल्याउने तयारीमा आफू रहेको बताए । पुनले संविधानले निर्दिष्ट गरेको नीतिभित्र बसेर राज्यका निश्चित उद्देश्य प्राप्तिका लागि सहकार्य गरिने पनि उल्लेख गर्नुभयो ।

“सबैको जोड संविधानले निर्दिष्ट गरेको आर्थिक नीतिभित्र बसेर निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने, सहजीकरण गर्ने र मनोबल उठाउने गरी काम गर्ने हो”, उनले भने, “त्यसका लागि सरोकारवालाबीचमा छलफल र परामर्श भइरहेको छ ।”

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १५:२८