१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

ट्याङ्करबाट डिजेल चोर्ने चालक पक्राउ

१२ मंसिर, विराटनगर ।  भारतबाट ल्याइने ट्याङ्करबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ । भारतको बरौनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङ्कर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजेल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिनुभयो ।

ट्याङ्करमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो । निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले ट्याङ्करका चालकले ट्याङ्करमा लगाइएको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताएको छ ।

घटनाको सत्यतथ्य पत्ता लागिसकेपछि ट्याङ्कर धनी सुखदेवले अब उप्रान्त यस्तो घटना हुन नदिने र आफ्नो तर्फबाट भएको गल्ती स्वीकार गर्दै चोरी भएको तेलको दोब्बर रकम निगमको खातामा हिजै जम्मा गरिसके पनि निगमले सुखदेवलाई तीन महीना तेल ढुवानी गर्न बन्देज गरेको, चालक स्वर्णकारले निगम ट्याङ्कर चलाउन नपाउने, निगम हाताभित्र छ महीना प्रवेश पनि गर्न नपाउने नसिहत निगमले दिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार १३:४९