१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नक्कली दस्तखत गर्ने वाईसीएलका नेता पक्राउ

१२ मंसिर, वीरगञ्ज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नक्कली दस्तखत गर्ने वाईसीएलका पूर्वकेन्द्रीय सदस्य  पक्राउ परेका छन् ।राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै ठगेको आरोपमा २६ वर्षीय सन्तोष कुमार पाण्डेय (आलोक)लार्इ प्रहरीले पक्राउ गरेको हाे । पर्साको धोविनी गाउँपालिका वडा नं. ३ हरिहरपुर घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. १३ डेरा गरी बस्ने पाण्डे  वाईसीएलका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।

उनले राष्ट्रिय अनुसन्धानको प्रहरी जवान र प्रहरी सहायक निरीक्षक पदमा योग्यता अनुसारको जागिर लगाइदिने भनी विभिन्न व्यक्तिलाई विश्वासमा पारेर ७ लाख २० हजार ठगी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ठगी गर्नका लागि पाण्डेले किर्ते लिखत कागज तयार गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम सहितको दस्तखत गरेको नक्कली नियुक्त पत्र समेत उनीहरुलाई दिएका थिए ।

उनले बाराको सुवर्ण गाउँपालिका वडा नं. ५ बस्ने प्रदीप कुमार ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भेर १ लाख ७० हजार, महागढीमाई नगरपालिका वडा नं. २ बस्ने हरिन्द्र ठाकुरको छोरा उमेश ठाकुरलाई राष्ट्रिय अनुसन्धानको प्रहरी जवान पदमा जागिर लगाइदिने भन्दै १ लाख ५० हजार र महागढीमाई नगरपालिका वडा नं. १ बस्ने झगरु महतो कोईरीको छोरा धिरेन्द्र कुशवाहालाई राष्ट्रिय अनुसन्धानको प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाइदिने भनेर ४ लाख रकम लिएका थिए ।

प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार पाण्डेविरुद्ध ठगी तथा लिखत सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ । अदालतबाट ७ दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 28, 2018 at 9:59 am