२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मानव बेचविखनको मुद्दामा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङबो घले पक्राउ


२८ चैत, काठमाडौँ । मानवबेचविखनको मुद्दामा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङबो घले पक्राउ परेका छन । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले घलेलाई अहिले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङबो घले ब्यूरोको हिरासतमा रहेको ब्यूरोका प्रकव्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फूयाँलले दैनिकीसँग पुष्टि गरे । उनले सबै पुराना मुद्दाका अनुसन्धान भैरहेको र सोहीक्रममा घलेका बारेमा पनि अनुसन्धान भैरहेको फूयाँलले बताए ।

घलेको विरूद्धमा २०७३ साउन २२ महिलाहरूलाई कुवेत पठाउँछु भनेर श्रीलङ्का पठाएको भन्दै उजुरी परेको थियो । मुद्दाका प्रतिवादी रहेका अन्य दुइ जना अहिले पनि जना फरार छन् । घले रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्य निकटका कांग्रेस नेता हुन ।

नुर्बु २०६३ सालमा भारतमा कोठी सञ्चालन गरिरहेको आरोपमा काठमाडौँबाट पक्राउ समेत परेका थिए । नुर्बुले भारतमा कोठी सञ्चालन गर्दा नुवाकोटकै अर्का एक जनप्रतिनिधिको साथ लिएको एक कांग्रेस नेताले बताएका थिए । नुर्बुको बारेमा यसअघि २०७९ वैशाख ४ मा दैनिकीमा गाउँपालिकाको पैसाले अध्यक्षको नाममा हाइड्रोपावरको सेयर, अध्यक्ष नुर्बुविरूद्ध भ्रष्टाचार मुद्दा ! शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

नुर्बु साङ्वोले गाउँपालिकाको बजेट दुरूपयोग गरेर हाइड्रोपावरमा सेयर हालेको विषयमा पनि दैनिकीमा यसअघि समाचार प्रकाशित भएको थियो । अध्यक्ष नुर्पुले गाउँपालिकाको पैसाले हाइड्रोपावरका लागि सडक बनाइदिएको भन्दै नक्कली भुक्तानी गराएर हाइड्रोपावरमा लगानी गराएका थिए । जुन विषयमा अख्तियार दुरूपोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

अध्यक्ष नुर्बुले हाइड्रोपावरसम्म जाने सडक गाउँपालिकाले बनाइदिएको भन्दै उनले हाइड्रोपावरको ड्यामसाइडदेखि पावरहाउससम्म बनाएको बाटोमा गाउँपालिकाले पैसा हालेर सडक बनाएको भन्दै हाइड्रोकै पैसाले बनाएको बाटो गाउँपालिकाको लगानी भएको भन्दै त्यस बापतिको पैसा सेयरमा कन्भर्ट गराएकोबारेमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।

बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले रसुवाको नौकुण्ड गाउँपालिका–१, थाङ्दोरमा निर्माण गरिरहेको १४।७ मेगावाटको फलाखु खोला हाइड्रोपावरको ड्याम साइटदेखि पावर हाउससम्म जाने सडक गाउँपालिकाले बनाएको भन्दै भुक्तानी लिएको विषय २०७८ चैतमा अख्तियारमा उजुरी परेपछि बाहिर आएको थियो ।

 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १५:४३