२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

गाउँपालिकाको पैसाले अध्यक्षको नाममा हाइड्रोपावरको सेयर, अध्यक्ष नुर्बुविरूद्ध भ्रष्टाचार मुद्दा !


४ वैशाख, रसुवा । स्थानीय तहमा जनप्रतिनिधिले पदीय दुरूपयोग गरेको विषयमा विभिन्न खालका टिकाटिप्पणी र समाचारहरू सार्वजनिक भैरहेकै छन । गाउँगाउँमा सिंहदरबार पुग्दा भ्रष्टाचारका ताैरतरिकाहरू पनि भिन्न रूपमा गाउँगाउँमा पुगेको छ।

रुसुवाको नाैकुण्ड गाउँपालिकामा पनि भिन्न खालको भ्रष्टाचार भएको खुलासा भएको छ । हुनत यस्तो खालको भ्रष्टाचार सशस्त्र द्धन्द्धको बेलामा नुवाकोटमा पनि देखिएको थियो । यद्यपी नुवाकोटको उक्त घटनाको विषयमा अहिलेसम्म कतै उजुरी नपरेको भएर छानविन भएको छैन ।

रसुवा नौकुण्ड गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता नुर्बु साङ्वोले गाउँपालिकाको बजेट दुरूपयोग गरेर हाइट्रोपावरमा सेयर हालेको पाइएको छ । अध्यक्ष नुर्पुले गाउँपालिकाको पैसाले हाइड्रोपावरका लागि सडक बनाइदिएको भन्दै नक्कली भुक्तानी गराएर हाइड्रोपावरमा लगानी गराएको भन्दै छानविन गरी कारबाही गर्न अख्तियार दुरूपोग अनुसन्धान आयोगमा मुद्दा परेको छ ।

चैत २९ गते परेको उजुरीमा अध्यक्ष नुर्बुले हाइड्रोपावरसम्म जाने सडक गाउँपालिकाले बनाइदिएको भन्दै उनले हाइड्रोपावरको ड्यामसाइडदेखि पावरहाउससम्म बनाएको बाटोमा गाउँपालिकाले पैसा हालेर सडक बनाएको भन्दै हाइड्रोकै पैसाले बनाएको बाटो गाउँपालिकाको लगानी भएको भन्दै त्यस बापतिको पैसा सेयरमा कन्भर्ट गराएको उजुरीमा उल्लेख छ ।

बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले रसुवाको नौकुण्ड गाउँपालिका–१, थाङ्दोरमा निर्माण गरिरहेको १४.७ मेगावाटको फलाखु खोला हाइड्रोपावरको ड्याम साइटदेखि पावर हाउससम्म जाने सडक गाउँपालिकाले बनाएको भन्दै भुक्तानी लिएको कुरा अख्तियारमा दिएको उजुरीमा उल्लेख गरिएको छ । यार्सामा हेडवर्क्स रहने आयोजनाको घिचेतमा पावर हाउस रहेको छ ।

गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नौकुण्ड गाउँपालिकाको अध्यक्षमा दुई हजार ३०१ मत प्राप्त गरी नुर्बु विजयी भएका थिए ।

नुर्बुमाथि मानवबेचविखनको पनि आरोप

अध्यक्ष नुर्बुमाथि मानवबेचविखनको पनि आरोप लागेको छ । नेपाली कांग्रेस रसुवाका एक जना नेताले दिएको जानकारी अनुसार नुर्बु २०६३ सालमा भारतमा कोठी सञ्चालन गरिरहेको आरोपमा काठमाडौँबाट पक्राउ समेत परेका थिए । नुर्बुले भारतमा कोठी सञ्चालन गर्दा नुवाकोटकै अर्का एक जनप्रतिनिधिको साथ लिएको ती नेताले जानकारी दिए ।

नुर्बुले अदालतमा आफ्नो कानुनी हिसाबकिताब मिलाए छन भने उनीसँगै काम गरेका यार्साका दुइ जना अहिले पनि मुद्दा खेपीरहेका छन । राजनीतिक संरक्षण लिन जान्ने नुर्बुले पाँचको बीचमा गाउँमा जनताको आवश्यकता पूरा गर्न खासै केही काम गर्न नसकेको नेपाली कांग्रेसकै नेताहरूले बताएका छन । यसबारेमा हामीले नुर्बुसँग कुरा गरेर उनको पनि प्रतिक्रिया राख्ने प्रयास गरेको भए पनि फोन नलागेकाले सम्भव भएन । हामी नुर्बुसँग कुरा भएपछि उनको प्रतिक्रिया पनि समेट्ने छाैँ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार २२:५३

https://srdb.com.np/