कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध
२६ चैत, मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बिमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा उपलब्ध भएको सहभागीहरुले बताएका छन् । स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा आइतबार सहभागी वक्ताहरुले स्वास्थ्य सेवा संस्थाले सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्ने तथा बीमितले अनावश्यक स्वास्थ्य परीक्षण गरी सेवाको दुरुपयोग गर्न नहुने धारणा राखे ।
उनीहरुले राज्यले धेरै ठूलो अपेक्षा राखी सुरु गरेको यस कार्यक्रमलाई हामी सबैले सफल गरी संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा डा. शङ्करप्रसाद अधिकारीले स्वास्थ्य बिमा कार्यक्रमले न्यूनतम रकममा अधिकतम स्वास्थ्य उपचार सेवा प्राप्त हुने भएकाले सम्पूर्ण नागरिकले बिमा गर्न आग्रह गरे।
स्वास्थ बिमा बोर्डका कोशी प्रदेश संयोजक अर्जुन पण्डितले बोर्डले मुलुकभरि गत वर्ष १६ अर्ब र चालु वर्षको ८ महिनाको अवधिमा ४ पटक गरी ८ अर्ब रुपैयाँ सेवा प्रदायक स्वास्थ्य सेवा संस्थालाई भुक्तानी गरेको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने विभिन्न स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।सोही अवसरमा विराटनगर–३ का उत्कृष्ट बिमा दर्ता सहयोगी विमला खनाललाई सम्मान गरिएको थियो । प्रदेशमा कूल बीमित परिवार संख्या ४ लाख ४४ हजार ९ सय ११, कूल बीमित जनसंख्या २३ लाख ९ हजार ८ सय ५५ जना (४७ प्रतिशत), सेवा लिने बीमितको संख्या ११ लाख ३ हजार ४ सय ३४ जना (४८ प्रतिशत) छ । यस्तै, नवीकरण गर्ने बीमित संख्या ७७ दशमलव २९ प्रतिशत रहेको बोर्डले उल्लेख गरेको छ ।
प्रदेश बोर्डअन्तर्गत सरकारी ८०, सामुदायिक ४ र निजी २२ गरी १ सय ६ सेवा प्रदायक स्वास्थ्य संस्था आबद्ध रहेका छन् । हालसम्म नेपालमा ७७ लाख ४१ हजार ४ सय ५३ जना नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेका छन् ।स्वास्थ्य बिमा सेवाको दुरुपयोग रोक्नका लागि सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा जम्मा रकमको १० प्रतिशत भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ ।
प्रकाशित मिति : 17:45









