८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

विकास जादूको छडी होइनः सांसद शाक्य

९ मंसिर, काठमाडाैँ । काठमाडौँ क्षेत्र नम्बर ९ (क)बाट विजयी बनेका प्रदेश नम्बर तीन का सांसद डा अजयक्रान्तिले विकास जादुको छडी नभएको भन्दै आफ्नो कार्यकालमा जनताले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र जाइका एल्मुनाई एसोसिएसन नेपाल (जान)ले संयुक्तरुपमा आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले मुलुक पहिलो पटक संघीयताको अभ्यासमा गएकाले पनि एकैचोटी परिणाम देखाउन केही समस्या भएको बताउनुभयो । ‘हामी अहिले नयाँ अभ्यासमा छौँ,’ उहाँले भन्नुभयो, ‘नियम–कानुन बनाउन केही समय खर्च भएको छ । त्योसँगै विकास निर्माणका काममा पनि हामी सक्रिय बनेका छौँ । फेरि विकास भन्ने कुरा जादूको छडी पनि होइन । एकै पटक ह्वात्त हुने । हामी स्थानीय तह र संघसँग पनि मिलेर विकासको कामलाई पनि गति दिइरहेका छौँ ।’

उहाँले पाँच वर्ष भित्रमा चुनावका बेला जनतासँग गरेका प्रतिवद्धता सकेसम्म पूरा गरेरै छाड्ने दृढता पनि व्यक्त गर्नुभयो । ‘म एक पटक मन्त्री वा सांसद् भै हाऔँ न त भनेर जनताका बीचमा भोट माग्न गएको होइन,’ उहाँले भन्नुभयो, ‘म मेरो क्षेत्रको विकासका लागि सांसद् वा मन्त्री हुँदा र नहुँदा पनि लागि नै रहन्छु ।’ उहाँले अहिले पनि आफ्नो क्षेत्रका वडाध्यक्ष, मेयरसँगै केन्द्रीय सांसद्सँग पनि मिलेर विकास निर्माणका काममा लागिरहेको बताउनुभयो । ‘स्थानीय, प्रदेश र केन्द्र सरकारसँग मिलेर यो क्षेत्रको विकासका लागि लागि परेका छौँ,’ उहाँले भन्नुभयो, ‘एक–दुई वर्षमा जनताले महशुस गर्ने गरी काम गर्छु । यो मेरो प्रतिवद्धता हो ।’ उहाँले विकासका लागि सहयोगी बन्ने भन्दा पनि एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिका कारण विकास हुन नसकेको बताउनुभयो । ‘अहिले प्रमुख प्रतिपक्षी दलका साथीहरुले सरकारको आलोचनामा बढी समय खर्च गर्नुभएको छ,’ उहाँले भन्नुभयो,’ ‘तपाईँहरुसँग पनि विकास र समृद्धिका एजेण्डा छन् भने लिएर आउनुहोस् मिलेर काम गरौँ । तर, आलोचना मात्र गर्ने कुरा त्याग्नुहोस् ।’ उहाँले चार–पाँच वर्षको अवधि लामो नभएको भन्दै केही यो कार्यकालको मूल्याङ्कन गरेर मात्रै अर्को पटक मतदान गर्न मतदातालाई आग्रह समेत गर्नुभयो ।

 

‘सबै सञ्चारमाध्यमलाई म दोष दिन्न,’ उहाँले भन्नुभयो, ‘केही सञ्चारमाध्यम र सोसल मिडियाको दुरुपयोग गरी अहिले विपक्षीले सरकारलाई खुइल्याउने खेती गरिरहेको छ । यस्तो भ्रम र झूठको खेतीको पक्षमा नलाग्न पनि म मतदातालाई आग्रह गर्छु ।’ उहाँले यो सरकार जनताको सरकार भएकाले जनताको हित र कल्याणबाहेक अरु सोच्न नसक्ने पनि दाबी गर्नुभयो । सांसद डा. शाक्यले आफ्नो क्षेत्रमा आई बहुजन हिताय,बहुजन सुखाय भन्ने भावना लिई जानले निःशुल्क आँखा जाँच शिविर आयोजना गरेकोमा खुशी व्यक्त पनि गर्नुभयो ।

कार्यक्रममा जानका अध्यक्ष डाक्टर रामचन्द्र भुसालले पनि सामाजिक कार्य गर्दा आफूलाई आनन्द प्राप्ति हुने बताउनुभयो । करीब ४५ वर्षदेखि शिक्षा, स्वास्थ्य,सामाजिकलगायतका क्षेत्रमा सामाजिक कार्य गर्दै आउनु भएका भुसालले यस्ता गतिविधि हरेक महिनामा गर्नु पर्ने आवश्यकता रहेको पनि बताउनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. १४ का अध्यक्ष शोभा सापकोटा, जानका पूर्वअध्यक्ष डिल्लीरत्न शाक्यलगायतले पनि बोल्नु भएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, अतिथिहरुको सामूहिक आँखा परीक्षण गराएर गरिएको थियो । निःशुल्क आँखा जाँच शिविरमा ७५ जनाभन्दा बढीले आँखा जाँच गराएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आईतवार २२:२४