२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

कांग्रेस नेता केसीलाई स्थानीयले बञ्चरेडाँडा प्रवेशमै रोके, नेता सबैलाई निषेध गर्ने स्थानीयको चेतावनी

२५ चैत, काठमाडौँ । शनिबार बञ्चरेडाँडामा कांग्रेस नेता श्रीराम ढुंगानाको नेतृत्वमा नुवाकोटको ककनी गाउँपालिका र धुनीवेशी नगरपालिकाका केही स्थाीयले प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेपछिको परिस्थित नियाल्न पत्रकारसहित बञ्चरेडाँडा पुगेका नेपाली कांग्रेस नेता समेत रहेका सांसद अर्जुननरसिंह केसीलाई स्थानीयले बञ्चरेडाँडा प्रवेशमा रोक लगाएका छन । ढुंगानासहितका केही पक्राउ परेपछि उनीरूको अवस्था बुझेर बञ्चरेडाँडा पुगेका केसीलाई स्थानीयले अपमानपूर्वक नै प्रवेशमा रोक लगाएका थिए ।

फोहोरका नाममा पटक पटक हुने आन्दोलनमा विभिन्न राजनीतिक दलका नेताहरूले आफ्नो स्वार्थका रोटी सेक्ने गरेका छन । शनिबारबाट सुरू भएको फोहोर व्यवस्थापनमा अबरोध गर्ने कामको नेतृत्व केसी निकटकै कांग्रेस नेता ढुंगानाले गरेका छन । यद्यपी उक्त आन्दोलनमा फरक राजनीतिक आस्थाका कतिपय स्थानीयको पनि साथ रहेको दाबी गरिएको छ । यसअघि नेपाली कांग्रेस सत्तामा हुँदा त्यहाँ जान आवश्यक नठानेका केसी कांग्रेस प्रतिपक्षमा पुगेपछि शनिबार भने पार्टी निकटका केही पत्रकार बोकेर त्यहाँ पुगेका थिए ।

अहिले आन्दोलनको नेतृत्व गरिरहेका ढुंगाना भने प्रायः देशको प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्री निवास बालुवटारमा देखिने गरेका छन । उनी ठेक्कापट्टाको काममा संलग्न निर्माणव्यवसायी हुन । उनी आन्दोलनका लागि आक्लझुक्कल गाउँ जाने गरेका छन ।

ढुंगानाको समूहले फोहोर व्यवस्थापनमा अबरोध गरेपछि पुगेका पूर्वमन्त्री समेत रहेका कसीलाई स्थानीयले बञ्चरेडँडामा रोकेर गलत काम गरेको स्थानीय समेत रहेका पत्रकार नवराज घिमिरेले जानकारी दिए । उनले पत्रकार र जनप्रतिनिधि समेतलाई फोहोर व्यवस्थापनस्थलमा प्रवेश गर्न नदिएर काठमाडौँ महानगरपालिका र केही स्थानीयले गलत काम गरेको बताए । उनले भित्र प्रवेश नपाएपछि नेता केसीसहित सडकमै पलेटी कसेर बसी बिरोध जनाएको पनि बताए ।

यस्तै प्रवेशमा अबरोध गर्ने समूहका संयोजक बैकुण्ठ घिमिरेले ककनी र धुनीवेशीका स्थानीयको पीडामा राजनीति गर्न आउने सबैले अब अर्जुननरसिंह केसीको जस्तै व्यवहार भोग्ने चेतावनी दिए । उनले भने, ‘अर्जुननरसिंह केसी विगतमा सहरी विकास मन्त्री नै भए त्यो बेलामा उनले यहाँको समस्या समाधानका लागि के गरे ? पटक पटक सांसद भएका छन । अहिले पनि सांसद छन यहाँको स्थानीयको पीडा कम गर्न के काम गरेका छन ? अनि यहाँ पत्रकार बोकेर राजनीति गर्न आएपछि हामीले रोकेका हौँ ।’

स्थानीयले व्यहोरेको फोहोरको पीडा बेचेर धेरैले धेरैथरी फाइदा लिएको तर डेढ दशकअघि भएको सम्झौता कार्यान्वयनमा कसैले ध्यान नदिएको बैकुण्ठले बताए । बैकुण्ठले यस्तै यस्तै कारणले नेताहरूलाई अब बञ्चरेडाँडामा सधैका लागि निषेध गर्ने परस्थिति आउन सक्ने पनि बताए ।

स्थानीयको प्रतिनिधि भन्दै राजनीतिक दलका तर्फबाट विगतदेखि काठमाडाैँ महानगरपालिकासँग वार्तामा बस्नेहरूले ठेक्का पट्टादेखि करोडाैँ कमाउने काम गरे पनि सम्झाैता कार्यान्वयनमा भनै कहिल्यै काम गरेको देखिएन । जसका कारण दुइ दशक हुन लाग्दा पनि स्थानीयका नाममा भएका सम्झाैता पूर्ण कार्यान्वय हुन सकेको छैन ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आईतवार ११:५४