पार्टीको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै टिकट दिइनेछः अध्यक्ष ओली
९ चैत, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले उम्मेदवार बनाउने बताएका छन् । एमाले बागमती प्रदेशले आज मध्यपुरथिमि बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजना गरेको बागमति प्रदेशस्तरीय जनप्रतिनिधिहरुको प्रशिक्षणमा उनले अब पार्टी सदयताकै आधार बनाएर टिकट नदिइने बताए ।
पार्टी सदस्यता लिएको यति वर्ष भयो भनेर सदस्यता लिएको वर्ष गनेर टिकट वितरण नहुने बताउँदै उनले देश, जनता र पार्टीका काममा निरन्तर लाग्नेलाई मूल्याङ्कनका आधारमा पार्टी र चुनाबमा टिकट दिने बताए।
अध्यक्ष ओलीले भने, “देश र जनताका काममा सक्रिय भएर लाग्नुस् । समाजको बिकासमा लाग्नुस् । पार्टीको काममा सक्रिय भए मात्रै टिकट पाइन्छ । अब आउने पार्टीको अधिवेशनमा होस वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन् ।”
विगतमा पार्टी अधिवेशन एवं महाधिवेशनमा होस कि स्थानीय तहदेखि संसदीय तहसम्म पार्टी सदस्यता लिएको यति वर्ष भयो, उति वर्ष भयो, मैले केही पाइन भनेर टिकट माग्न आउने गरेको स्मरण गरे।
पार्टीले जिल्लामा भेला र प्रशिक्षणको आयोजना गर्ने र ती भेला र प्रशिक्षण पार्टीको परीक्षाका रुपमा अगाडि बढ्ने भन्दै उनले देश र पार्टी बनाउन एमालेको नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति : March 22, 2024 at 9:19 am









