सिआईबीलाई बयान दिएपछि चौधरीले भनेः मेरो चरित्रकाे सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन
८ चैत, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति बनोद चौधरीले आफ्नाे चरित्रकाे सर्टिफिकेट कसैलाई बुझाउन नपर्ने टिप्पणी गरेका छन्। बिहीबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चाैधरीसँग बयान लिएकाे थियाे। सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा उनले पत्रकारसँग कुरा गर्दै आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन नपर्ने बताएका हुन ।
आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको बताउँदै चौधरीले भने, ‘ याे जटिल परिस्थितिमा म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरीका र विश्वभरीका युवाहरुले, नेपालका रोजगारदाताहरुले, करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन ।’
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सिआइबीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा आज बिहान चौधरीको बयान लिएकाे थियाे ।
प्रकाशित मिति : March 21, 2024 at 11:08 am









