११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग सीआईबीले लियो बयान

८ चैत, काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी कम्पनीको नाममा लगेको प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान चौधरीको बयान लिइएको हाे ।

यसअघि बुधबार सिआइबीले चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेको थियो। काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सिआइबीले छानबिन गरिरहेको छ। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको भन्दै सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो।

सोही प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि पनि छानबिन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए। बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी जग्गा चौधरी परिवारले च्याम्पियन फुटवेयर प्रालिको नाममा गराएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार ०९:५७