१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायम राख्ने नाउपाको निर्णय

४ चैत, काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेकाे छ । केन्द्रमा नयाँ समीकरणलाई समर्थन दिएको नाउपाले सुदूरपश्चिम प्रदेशमा भने कांग्रेस नेतृत्वको सरकारलाई साथ दिने निर्णय गरेको हो ।

आइतबार प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको पाँच जना प्रदेशसभा सदस्यको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम नाउपाका ७ सांसद छन् । तीमध्ये पाँच मन्त्री छन् । उनीहरुले मुख्यमन्त्री कमलबहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका हुन् । बैठकमा नाउपाका प्रदेशसभा सदस्यहरु कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् । उनीहरू दुवैलाई पनि सरकारमा ल्याउने गरी छलफल गरिरहेको संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना चाहिन्छ । बहुमतको लागि सरकारलाइ राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीकाे समर्थन  आवश्यक छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १७:४३