२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

घुस र मध्यस्थता बिना ऋण पाईदैन भन्ने आरोप थप सुन्नु नपरोस्ः गभर्नर अधिकारी

३ चैत, काठमाडाैँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय क्षेत्रबाट भइरहेको लगानी उत्पादनशील क्षेत्रमा र मुलुकको अर्थतन्त्रलाई योगदान गर्ने क्षेत्रमा जानुपर्ने गरी वित्तीय र मौद्रिक नीति अबलम्बन गरिएको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कले शनिबार आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा सम्बोधन गर्दै उहाँले अनुत्पादक क्षेत्रमा कर्जा नजाओस् भन्नेमा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

“बैङ्किङ क्षेत्रले ठूलो स्रोत परिचालन गरिरहेको छ । त्यसको दुरुपयोग हुन दिनु भएन । उत्पादनमूलक क्षेत्रमा लगानी होस् र उत्पादन बढोस् । अनुत्पादक क्षेत्रमा कर्जा नजाओस्”, गभर्नर अधिकारीले भन्नुभयो, “राष्ट्रिय स्वार्थमा र उत्पादन वृद्धिमा सहयोग पुग्नेगरी बैङ्किङ क्षेत्रले काम गर्नुपर्छ ।” उत्पादन क्षेत्रमा लगानी बढोस् भनेर नियामकबाट क्षेत्रगत कर्जाको प्रावधान राखिएको गभर्नर अधिकारीले बताउनुभयो ।

पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थालाई समस्या पर्नेगरी विभिन्न क्षेत्रबाट भइरहेका आक्रमणलाई निस्तेज पार्न बैकिङ क्षेत्रले थप इमानदार र जिम्मेवार भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बैङ्कको सबैभन्दा ठूलो सम्पत्ति भनेको उसले ग्राहकबाट पाउने विश्वास भएको गभर्नर अधिकारीले बताउनुभयो । “नागरिकको बचत सुरक्षणको दायित्व हामीले लिएका छौँ । हाम्रो इमान्दारी महत्वपूर्ण छ । तपाईहरुले ग्राहकको विश्वास आर्जन गर्नेगरी काम गर्नुहोस्”, गभर्नर अधिकारीले भन्नुभयो, “घुस नदिईकन ऋण पाईदैन, मध्यस्थता नभइकन ऋण पाईदैन भनेर आरोप लाग्ने गरेको छ । तर यस्ता आरोप थप सुन्नु नपरोस् ।” बैङ्किङ क्षेत्रका साना कमजोरी र घटनाले पनि बैङ्कलाई ठूलो समस्या पार्नसक्नेतर्फ उहाँले सचेत गराउनुभयो ।

दिगो र हरित पूर्वाधारमा लगानी नेपालको प्राथमिकतामा रहेकोमा त्यसलाई बैङ्क तथा वित्तीय संस्थाले पनि प्राथमिकतामा राखेर कर्जा विस्तार गरिनुपर्ने गभर्नर अधिकारीको भनाइ छ । बैङ्क तथा वित्तीय संस्थाबाट भइरहेको लगानीले मुलुकको अर्थतन्त्र विस्तारमा ठूलो योगदान गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले आफुले लगानी गर्दा बैङ्क तथा वित्तीय संस्थाले प्राकृतिक प्रकोप र विपद्का चुनौती बारे सजग हुनुपर्ने बताउनुभयो । दिगो र हरित पूर्वाधारका क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा गभर्नर अधिकारीले राख्नुभयो ।

नेपालको दोस्रो वाणिज्य बैङ्कका रुपमा स्थापित सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैङ्कका तथ्याङ्क हेर्दा विगतका वर्षमा धेरै आरोह अवरोह भोगेको उल्लेख गर्नुहुँदै गभर्नर अधिकारीले अहिले बैङ्कको वित्तीय स्थास्थ्य निकै मजबुद रहेको र बजारमा प्रतिस्पर्धी बैङ्कका रुपमा स्थापित भएको बताउनुभयो ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १९:५६