रुसी सेनामा भर्ना भएका थप ७ जना नेपाली युवाको मृत्यु
१ चैत, काठमाडाैँ । रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा होमिएका थप ७ जना नेपालीको मृत्यु भएको छ। बिहीबार परराष्ट्र मन्त्रालयले एक प्रेस वक्तव्य जारी गर्दै पछिल्लो पटक युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ती भएका ७ नेपाली युवाको मृत्यु भएको पुष्टि गरेको हो।
पछिल्लो पटक ज्यान गुमाउने ७ जना नेपालीमा धादिङका पूर्ण बहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदम बहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।
यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागमा हालसम्म २०० भन्दा बढीका परिवारले उद्धारका लागि निवेदन दिएका छन् ।
परराष्ट्र मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका राष्ट्रिय सेनामाबाहेक अन्यमा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेकाे जनाए पनि रसियन सेनामा भर्ना हुने क्रम रोकिएको छैन।
रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयले जनाएको छ। यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउन रुसी सरकारलाई मन्त्रालयले फेरि आग्रह गरेको छ।

प्रकाशित मिति : March 14, 2024 at 6:14 pm









