१७ जेष्ठ २०८१, बिहीबार | Thu May 30 2024

‘रङ्गेली’मा आर्यन सिग्देलको भयङ्कर स्वरूप, दर्शकले अत्यधिक रुचाए


२७ फागुन, काठमाडौं। शुक्रबारदेखि सफलताका साथ चलिरहेको नेपाली चलचित्र ‘रङ्गेली’मा युवापुस्ताका लोकप्रिय अभिनेता आर्यन सिग्देलले दर्शकलाई ‘सरप्राइज’ दिएका छन् ।

चलचित्रको क्लाइमेक्समा खल पात्रको भयङ्कर स्वरूप र अभिनयमा देखिने सिग्देललाई दर्शक अत्यधिक रुचाएका छन् । आर्यनको सोही भूमिकाको लुक्समा पोस्टर र केही फोटोहरू सार्वजनिक गरिएको छ । उनलाई चलचित्रमा सन्की गुण्डाको भूमिकामा देखाइएको छ ।

चलचित्रमा आर्यनको ‘इन्ट्री’ पश्चात् रङ्गेलीको दोस्रो भागमा अभिनेता दयाहाङ राई र उनको ‘क्ल्यास’ हुने अवस्था रहेको छ । दोस्रो भाग निर्माण घोषणाको यो नौलो प्रयोग हो । दोस्रो भागमा आर्यन र दयाहाङ प्रमुख भूमिकामा हुनेछन् । लेखक तथा निर्देशक अर्जुन सुवेदीले दोस्रो भाग सकेसम्म छिटो बनाउने कोसिस गर्ने जनाए ।

रिलिजको दोस्रो दिन पनि चलचित्र ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको थियो । आइतबार बिहानैदेखि पनि चलचित्र हेर्ने दर्शक हलमा बाक्लो रूपमा देखिएका छन् । दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १०:४१