१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सरकार गलत छ, व्यवस्था होइनः शंकर पोखरेल


१८ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको कारण व्यवस्था प्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका छन् । शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले अहिले नागरिकमा व्यवस्थाप्रति देखिएको असन्तुष्टि सरकारको असक्षमताको कारण भएको बताए । ‘सरकार गलत छ, व्यवस्था होइन’, पोखरेलले भने ।

नेपाल अहिले इतिहासकै कमजोर अवस्थामा रहेको उनले बताए । सरकारले देश र जनताको हितमा काम गर्न नसकेको पोखरेलले बताए । देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको प्रश्न यतिबेला इतिहासकै कमजोर भएको पोखरेलले बताए । इतिहासकै कमजोर छ’ उनले भने ।

नेपालको हित र सरोकारका प्रश्नमा छिमेकीसँग संवाद गर्न र देशको हितमा काम गर्ने सामर्थ्य सरकारसँग नरहेको उनले बताए । यो कुरालाई बदल्नु पर्ने भए पनि गठबन्धन सरकारमा रहँदासम्म यो अवस्था बदलिने सम्भावना नरहेको पोखरेलले बताए ।

गठबन्धन सरकारको गतिविधिको कारण निराश भएर युवा विदेश पलायन हुँदै गएका पोखरेलले बताए । ‘मुलुकको भविष्य अँध्यारो देख्दा मानिसहरूमा निराशा बढेको छ’, उनले भने । सुशासनको कुरा गर्ने सरकार भ्रष्टाचारका फाइल खोल्दा आफ्ना मान्छेका अनुहार देखिएपछि पछाडि फर्कने गरेको पोखरेलले बताए । यसले सरको चरित्र स्पष्ट भएको उनले टिप्पणी गरे ।

जनतालाई आशा जगाउन नेकपा एमालेले झुलाघाट– चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा चलाएको उनले जानकारी दिए । अब मधेस केन्द्रिय त्यस्तै प्रकृतिको यात्रा सञ्चालन हुने उनले बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १५:१६