६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

बजेट कार्यान्वयनका लागि १५ दिनभित्र संयन्त्र तयार गर्न प्रदेश ५ का मुख्यमन्त्री पाेखरेलकाे निर्देशन

४ मंसिर,रुपन्देही । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट कार्यान्वयनका लागि चाहिने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न निर्देशन दिनुभएको छ ।

प्रदेश मन्त्रालयका चौमासिक प्रगति समीक्षा कार्यक्रममा आज उहाँले अहिलेसम्म देखिएका समस्या समाधान गरी बजेट कार्यान्वयनका लागि आधारभूत संरचना तयार गरेर अघि बढ्न सम्बन्धीत मन्त्री तथा सचिवलाई निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री पोखरेलले बजेट कार्यान्वयनका लागि आवश्यक पर्ने डिभिजन, निर्देशनालय, कार्यविधि, निर्देशिका र कर्मचारीको व्यवस्थापन तोकिएको समयसीमाभित्र व्यवस्थापन गर्न पनि निर्देशन दिनुभयो ।

वैकल्पिक उपाय अवलम्बन गरेर भए पनि बजेटको प्रभावकारी कार्यान्वयनका लागि आधारभूत आधार तयार गर्नुपर्नेमा जोड दिदैं उहाँले भन्नुभयो, “बहुवर्षीय ठेक्का दिनुअघि आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिएर मात्रै अघि बढाउनुपर्छ ।”

मुख्यमन्त्री पोखरेलले “यसो गर्दा बजेटमा समस्या नपर्ने र आयोजना तोकिएको समयमा पूरा नहुने समस्या पनि हट्छ” भन्दै मन्त्रालयको सबै रिपोर्ट नियमित प्राप्त गर्ने संयन्त्र बनाउन र त्यो रिपोेर्ट विश्लेषणसहित मुख्यमन्त्री कार्यालयमा पठाउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार १९:०६