राजपाकाे अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो
४ मंसिर, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजक राजेन्द्र महतो भएका छन् । आज बसेको पार्टीको राजनीतिक समितिको बैठकले महतोलाई संयोजक बनाएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैठकले पार्टी गठनदेखि हालसम्म अध्यक्ष मण्डलको संयोजन गरेका महन्थ ठाकुरलाई धन्यवादसमेत दिएको छ। मधेश केन्द्रित ६ वटा पार्टी मिलेर ०७४ बैशाख ७ मा राजपा बनेको थियो। ‘राष्ट्रिय जनता पार्टी नेपाल पार्टी नेपाल पार्टीको विधान अनुसार अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रीय प्रणालीमा सञ्चालित गर्न बहुमतबाट निर्णय गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी राजपामा जोडिएका थिए। ती सबै पार्टीका नेतृत्व नै राजपाको अध्यक्ष मण्डल अन्तर्गतका नेताहरु थिए। संयोजक भने ठाकुर भएका थिए। त्यतिबेला संयोजक पद चक्रीय प्रणालीमा गरिने भनिए पनि ठाकुर एक्लैले डेढ वर्ष संयोजकको जिम्मेवारी पूरा गरेका थिए।
निर्वाचन आयोगमा बुझाएको केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक मान्दै त्यसपछि पार्टी संगठनमा भएको नियुक्ति बदर हुने निर्णय पनि आजको बैठकले गरेको राजपाका महासचिव केशव झाले बताए। पार्टीको अधिवेशनलाई लक्षित गर्दै साधारण तथा सक्रिय सदस्यता वितरणको अभियान मंसिर मसान्तसम्म बढाउने निवेदनमा उल्लेख छ।

प्रकाशित मिति : November 20, 2018 at 5:50 pm







