२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

राजनीतिप्रति सकारात्मक सोच ल्याउन जनतामाझ पुग्नैपर्छः उपमहासचिव ज्ञवाली

२० माघ, कास्की । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको राजनीतिप्रति आमजनताको सोच सकारात्मक बनाउन उनीहरुका आवश्यकता बुझेर दलहरु अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपालमा राजनीतिक अस्थिरता आउन नदिन गणतन्त्रवादी शक्ति चनाखो हुनुपर्नेमा जोड दिए । “वर्तमान अवस्थामा देशमा सामाजिक सद्भाव कायम गर्न त्यति नै आवश्यकता देखिएकाले दलहरु सचेत भएर त्यसतर्फ पनि ध्यान दिन जरुरी छ”, नेता ज्ञवालीले भन्नुभयो, “विभिन्न जातजाति, धर्म, संस्कृति मिलेर बसेको देशमा सामाजिक सद्भाव बिग्रन दिनु हुँदैन ।”

केही वर्षअघिमात्र द्वन्द्वबाट शान्ति प्रक्रियामा अगाडि बढेको देश नेपालमा पुनःद्वन्द्वको अवस्था आउन नदिन दलहरुले सोच्न जरुरी भएको उल्लेख गर्दै नेता ज्ञवालीले सङ्क्रमणकालीन न्यायका पक्षमै रहेकाले शान्तिप्रक्रियाका हरेक गतिविधिमा सरकारलाई एमालेको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

अवसरको खोजीमा युवा विदेश पलायन हुँदा नेपालका गाउँबस्ती शून्य बन्दै गएकाले युवालाई नेपालमै रहने वातावरण बनाउन सरकारले युवालक्षित विभिन्न किसिमका कार्यक्रम ल्याउन जरुरी भएकामा उनले जोड दिए ।

प्रकाशित मिति : February 3, 2024 at 3:45 pm