१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

भाेजपुरमा भाइटिकाकाे दिन दिदीकाे हत्या गर्ने भाइ पक्राउ

२ मंसिर, भोजपुर ।  भाइटिकाको दिन आफ्नै दिदीलाई काठको फल्याक प्रहार गरी हत्या गर्ने भाइलार्इ प्रहरीले पक्राउ गरेकाे छ । रामप्रसाद राई गाउँपालिका–७, बासीखोराका ४५ वर्षीय सुमन राईले आफ्नै दिदी ४७ वर्षीया सरिता राईको हत्या गरेको हाे ।

राईले गएको कार्तिक २३ गते साँझ ६ बजेतिर आन्तरिक विवाद बढेपछि दिदी सरिताको टाउकोमा काठको फल्याकले हिर्काएर हत्या गरेको आरोपी सुमनले प्रहरी लाई बयान दिएका छन् ।

भाइटिकाकाे दिन गाउँमै अन्य दिदीहरु यशोदा र रुपाको हातबाट टिका लगाएर देउसी खेल्न सुमन घर आउन ढिला गरेको भन्दै दिदी सरिताले गाली गरेपछि सुमनले घर नजिकै रहेको काठको फल्याकले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर चरित्र विक्रम कार्कीले बताउनुभयो ।

फल्याक प्रहारबाट सरिताको टाउकोको बायाँ भागमा लागेर क्षत विक्षत भएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।अनुसन्धानका क्रममा घटनाको ६ दिनपछि गएको बिहीबार आरोपि राईलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ परेका राईलाई जिल्ला अदालत भोजपुरबाट प्रहरी हिरासतमा राखी अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ ।

प्रकाशित मिति : November 18, 2018 at 2:47 pm