६० देशका ५ सय बढी चलचित्रबाट निफको सातौँ संस्करणका लागि छानिए ८८ चलचित्र
२ माघ, काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व(निफ) को सातौँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले निफको यो संस्करणमा ४० देशका ८८ चलचित्र छनोट भएका जानकारी दिए ।
निफमा कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित महोत्सवमा प्रदर्शित चलचित्र समावेश हुनु सुखद भएको प्रतिष्ठानका सल्लाहकार तथा अभिनेता नीर शाहले बताए । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी ठोस नीति नियम नहुँदा बोर्डले अपेक्षित काम गर्न नसकेको गुनासो गरे ।
प्रतिष्ठान तथा महोत्सवका अध्यक्ष केपी पाठकले यस पटकको महोत्सवका लागि ६० देशबाट ५ सय बढी चलचित्र प्राप्त भएको बताए । ‘यीमध्ये हामीले ४० देशका ८८ चलचित्र मात्र छनोट गर्न सक्यौँ । छानिएका चलचित्रहरू कान्स, लोकार्नो, बर्लिनालजस्ता प्रतिष्ठित चलचित्रमा प्रदर्शन भइसकेका छन्’, उनले भने ।
उनले फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा विभाजन गरी दुवै भागमा फिचर चलचित्र, सर्ट चलचित्र र वृत्तचित्र विधामा अवार्ड प्रदान गरिने बताए । यस वर्ष छनोट भएका चलचित्रहरू क्युएफएक्स चेन अन्तर्गत सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन गरिने आयोजकले जनाएका छन् ।
अध्यक्ष पाठकले यस वर्षबाट निफले एकै समयमा अन्य प्रदेशहरूमा पनि महोत्सवलाई विस्तार गर्ने तयारी गरेको बताए । ‘प्रदेशमा हुने फेस्टिभलमा महोत्सवमा विजेता बनेकासँगै दर्शकको रुचिमा परेका चलचित्र प्रदर्शन हुनेछन्’, उनले भने ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिको ‘गौतम बुद्ध अवार्ड’, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर चलचित्रबाट एउटालाई ‘चलचित्र समाजहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफएफएस) डन क्विहोटे अवार्ड’ प्रदान गरिनेछ । त्यस्तै महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट सर्ट चलचित्रलाई ५ सय डलर राशिको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ ।
यसै गरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी, सर्ट चलचित्रमध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी, फिचर चलचित्रतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।
अध्यक्ष पाठकले यस वर्षबाट दर्शकको रुचि, बानी र सुझावको तथ्याङ्क सङ्कलन गर्न देशभरबाट अनलाइन भोटिङ र सर्भेबाट प्राप्त मतका आधारमा ‘अडियन्स च्वाइस अवार्ड’ प्रदान गरिने खुलाए ।
प्रकाशित मिति : २ माघ २०८०, मंगलवार २१:२६