२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

कमेडी चलचित्र ‘खजुरे ब्रो’को सुटिंग सुरू

२ माघ, काठमाडौँ । सुरज सुनुवारको निर्देशनमा निर्माण हुने चलचित्र ‘खजुरे ब्रो’ को छायांकन सुरु भएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण टिमले चलचित्रको  सुटिंगसुरु भएको जानकारी दिएको हो। कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् । कमेडी जनराको चलचित्र ‘खजुरे ब्रो’ धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको फिक्सन चलचित्र रहेको निर्देशक सुनुवारले बताए।

चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ । आफ्नो डेब्यु चलचित्र ‘खजुरे ब्रो’को कथा र सम्पूर्ण टिम मन परेको कारण आफूले काम गरेको र राम्रो चलचित्र बन्नेमा ढुक्क रहेको अभिनेत्री नीति शाहले बताईन् ।

चलचित्रको छायाँकन एकदमै राम्रो भईरहेको पनि नीतिले बताईन् । कार्यक्रममा बोल्दै रेयर राईले ‘खजुरे ब्रो’ शिर्ष रोलमा काम गर्न पाउँदा धेरै नै हर्षित भएको र च्यालेन्ज पनि थपिएको बताए। कमेडी जनरामा पहिलो पटक काम गर्न लागेकोमा उत्साहित रहेको अभिनेता महेश त्रिपाठीले बताए ।

नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन गर्ने चलचित्रको छायाँकन सुरु भई सकेको छ । केहि दिनको काठमाडौँको छायाँकन सकेर टिम धरान प्रस्थान गर्नेछ। दर्शकको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उद्देश्यका साथ चलचित्र निर्माण गर्न लागेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए ।

अनमोल गुरुङको सङ्गीत रहने फिल्म इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा छायाङ्कन हुनेछ । चलचित्रको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लि.को रहेको छ।

प्रकाशित मिति : January 16, 2024 at 9:03 pm