२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

सहकारीले बचतकर्तालाई दिएको पीडाः भएन बचत फिर्ता, खर्बौँ रकम जोखिममा


२० पुस, जलेश्वर,  : जलेश्वर नगरपालिका–१ बस्ने उषा देवीले अहिले सञ्चित गरेको रकम पछि काम लाग्ने आशा बोकेर खाइनखाइ सहकारीमा बचत गरिन् । पछि घरखर्चका लागि आवश्यक पर्दा लिन खोज्दा नपाएपछि दोहोरो पीडामा छिन् । एकातिर आफैँले छ वर्षदेखि जम्मा गरेको रकम डुब्ने हो कि भन्ने चिन्ता छ भने अर्कोतिर अरुसँग ऋण गरेर घरखर्च चलाउनुपर्ने बाध्यताले आफू अहिले दोहोरो मारमा परेको बताइन् ।

उनले  लाखौँ रकम जम्मा गरेकाे महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पाँच वर्षदेखि बन्द रहेको छ । सहकारीका एजेन्ट तथा सञ्चालक एकाएक सम्पर्कविहीन भएपछि उषादेवीजस्ता दर्जनौँ बचतकर्ता अहिले घरका न घाटका भएका छन् ।

जलेश्वर नगरपालिका–१ कै गिरिजा देवी, ममता देवी र भोलाकुमार राउतले पनि सानो सानो व्यापार, व्यवसाय गरेर सात वर्षदेखि पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा लाखांँ रकम जम्मा गरेका थिए । उनीहरुले बचतबाट पाउने लाभ (ब्याज) त परै जाओस् अहिलेसम्म आफ्नो साँवासमेत पाउन नसकेको पीडा सुनाउछन् ।

घरदैलो र पसलसम्मै पुगेका एजेन्टहरुले आफूहरुबाट पटकपटक गरी लगेको लाखौं रुपैयाँ लिएर एजेन्ट र सहकारी संस्था नै हराएपछि उनीहरु बिचल्लीमा परेका हुन् । बचतकार्ताहरुले पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आफूहरुको रकम ठगेर रातारात फरार भएको भन्दै २०७५ साउन २८ मा महोत्तरी जिल्ला अदालतमा ठगी मुद्दा दिएका थिए । तर अदालतले अहिलसम्म निर्णय नगर्दा आफूहरुले न्याय नपाएको गुनासो गरे।

यस सहकारी संस्थाका सञ्चालकहरुले एक हजार पाँच सय बचतकर्ताको रकम हिनामिना गरी फरार रहेको बताइएको छ । सदरमुकाम जलेश्वरको केन्द्र (दुर्गा चौक) मै अवस्थित यस सहकारी संस्थाको कार्यालय एक समय निक्कै चर्चित एवं लोकप्रिय बचत संस्थाको रुपमा परिचित थियो । त्यस संस्थाबाट धेरैले लाखौं रकमको कारोवार हुने गर्दथ्यो ।

सहकारीका २६ जना बचतकर्ताले आफूहरुले जम्मा चार करोड ८३ लाख रुपैयाँ फिर्ता नगरेको र हिनामिना गरेको भन्दै दिएको छुट्टाछुट्टै उजुरीका आधारमा ३७ एजेन्ट र सञ्चालकविरुद्ध २०७५ साउन २८ मा महोत्तरी जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गराएका थिए । ३६ जना एजेन्ट तथा सञ्चालकमध्ये ३१ जनालाई अदालतले विभिन्न मितिमा धरौटीमा रिहा गरेको छ । यस मुद्दामा ठगिएकामध्ये २६ जना मात्रै मुद्दा प्रक्रियामा अगाडि आएका छन् भने मुद्दा हाल्न नआउनेको संख्या निकै धेरै रहेको देखिन्छ ।

यता मुद्दा दर्ता गराएको पाँच वर्ष बित्दा पनि अदालतले अनुसन्धानमा चासो नदिएको र लाखौं रकम ठगी गरेका एजेन्ट र सञ्चालकहरुलाई अदालतले कारबाही गर्नुका साटो तारेखमा मात्रै छाडेको पीडितहरुको आरोप रहेको छ । जिल्ला प्रहरी कार्यालयमा पाँच वर्षअघि २६ जनाले दिएको निवेदन अनुसार दुई करोड २९ लाख १३ हजार दुई सय ६६ रुपैयाँ ठगिएको देखिन्छ भने दुई करोड ५३ लाख ८६ हजार ७ सय ३४ रुपैयाँको जाहेरी अझै पनि आउन बाँकी रहेको बताइएको छ ।

ससाना बचतकर्ताहरूलाई धेरै ब्याज हुने, चाहिएको बेला सहजै ऋण लिन सकिने भनेर प्रलोभनमा पारेर एजेन्टहरुले बचत गराएको र आफ्नो स्वार्थमा सहकारीको रकम चलाउनेदेखि लिएर पछि त करोडौ रकम लिएर फरार भएको देखिन्छ । सहकारीका पदाधिकारीहरूले पूर्व योजना नै बनाएर बचतकर्ताहरुको करोडौं रकम ठगेको देखिन्छ । प्रलोभनमा पारेर स–साना वचतकर्ताको रकम सङ्कलन गरेर मनलाग्दी खर्च गर्ने, त्यही साना बचतको दुरुपयोग गरेर आफूहरु आलिसान जीवन बिताउने र बचतकर्तालाई बिचल्लीमा पार्ने गरेको देशभर नै थुप्रै गुनासाहरु आएका छन् ।

जिल्ला अदातलकी श्रेस्तेदार नुतन झाले यस मुद्दामा पक्ष र विपक्षहरुमध्ये विपक्ष (प्रतिवादी) व्यक्तिहरु बढी भएकाले न्याय सम्पादनमा ढिलाई भएको बताउछन् । उनले यस मुद्दाका ३७ जना प्रतिवादीमध्ये केही प्रतिवादीहरु अझै फरार रहेको, केहीको हकमा साक्षी बकपत्र हुन समेत बाँकी नै रहको र यस्ता मुद्दामा सबै प्रतिवादीहरु चुक्ता नभइसकेको अवस्थामा फैसला गर्न नमिल्ने बताए । श्रेस्तेदार झाले यस मुद्दाको अङ्ग पुग्न बाँकी रहेको र पछिल्लो सुनुवाइमा मुद्दाको टिपोट गरी पेश गर्न आदेश भएकाले अहिले टिपोट भइरहेको र टिपोट पूरा भएपछि पेशीमा चढाइने र आउँदा पेशीले नै मुद्दाको सन्दर्भमा केही हुने वा नहुने कुरा तय गर्ने बताए ।

पीडित बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ जलेश्वर र जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारसँग पनि न्यायको लागि गुहार लगाइसकेको तर अहिलेसम्म कतैबाट पनि न्याय पाउन नसकेको उनीहरु बताउछन् । ‘‘अहिलेको बचत भोलिको दुःखको साथी हुने आशमा सहकारीमा लगेर बचत गर्यौं तर सहकारीको कार्यालय, एजेन्ट र सञ्चालक भेट्न छाडिएपछि अब छाँगाबाट खसेजस्तै भएका छौँ’’ एकै स्वरमा उनीहरुले भने । जलेश्वरमा सानो व्यापार गर्दै त्यसबाट भएको कमाइबाट घर खर्च काटेर धेरथोर बचत गर्दै आएको रकमहरु एजेन्ट र सञ्चालकले खाएर भागेपछि आफूहरु बिचल्लीमा परेको वचतकर्ताहरुको भनाइ छ ।

करोडौँ रकम ठगी गरेकाहरुलाई कारबाही गरी आफूहरुलाई न्याय दिनुको साटो अदालतबाट एकपछि अर्को गर्दै एजेन्टहरुलाई तारिखमा छाडिरहेको प्रति बचतकर्ताहरु आक्रोश व्यक्त गरेका छन् । आफूहरुले अब आफ्नो पैसा फिर्ता आउँला भन्ने आशा मारिसकेको उनीहरुकाे भनाइ छ । यस सहकारी संस्थाकै कारण अहिले जिल्लामा सञ्चालित अन्य बचत तथा ऋण सहकारी संस्थाहरुमा पनि बचतकर्ताहरुले बचत गर्न छाड्दै गएको ती बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु बताउँछन् ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १५:३८