जाजरकोटमा जाँड, रक्सी बन्दपछि गाँउ शान्त
२६ कात्तिक,जाजरकोट । ६ महीनाअघि जाँड, रक्सी बिक्री तथा सेवन गर्ने यहाँका स्थानीयवासी अहिले उत्पादन र बिक्री गर्न हुँदैन् भनेर सन्देश दिँदै हिँडेको देख्दा अनौठो लाग्ने गरेको छ । समाजमा जाँड, रक्सीका कारण विभिन्न घटना बढ्न थालेपछि नलगाड नगरपालिका–८ हल्चौरमा नयाँ सुरक्षा दल गठन गरी मदिरा निषेध अभियानमा लागेपछि अहिले गाउँ शान्त भएको स्थानीय नारायणबहादुर खत्रीले बताउनुभयो ।
गाउँमा लाग्ने सामान्य जात्रा, भेला, बैठकमा समेत मदिराका कारण झगडा हुँदा हप्तैपिच्छे प्रहरी कार्यालयमा धाउने स्थानीयवासी अब छिमेकी गाउँमा मदिरा उत्पादन तथा बिक्री वितरण गर्न हुँदैन भनी सन्देश दिएको देख्दा जो कोही अचम्म परेको खत्रीको भनाइ छ । छ महीनाअघि मदिरा बनाउने महिला अहिले मदिरा बन्द अभियानमा जुट्दा गाउँमा थप शान्ति, सुरक्षा कायम भएको उहाँको भनाइ छ ।
गाउँका लाग्ने, जात्रामा सुरक्षा दलले सुरक्षा दिने गरेको नलगाड नगरपालिकाका कार्यपालिका सदस्य नरबहादुर विकले बताउनुभयो । तिहारमा सधैँ झगडा हुने हल्चोरमा यो पटक झगडा नभएको र मदिरा कसैले नखाएको देख्दा अनौठो लागेको बारेकोट गाउँपालिकाबाट हल्चौरमा टीका लगाउन आउनुभएकी टीका खत्रीले बताउनुभयो । अब हल्चौरको सिको सबैले सिक्नुपर्ने उहाँको भनाइ छ ।
प्रकाशित मिति : November 12, 2018 at 12:05 pm







