१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भूकम्प पीडितका लागि अस्थायी घरटहरा निर्माण गर्न एमालेका एक हजार स्वयंसेवक जाजरकोट प्रस्थान


३ मङ्सिर, काठमाडौं । जाजरकोट भूकम्पका कारण घरबारविहीन भएका पीडित जनताका लागि अस्थायी आवास निर्माणका लागि नेकपा (एमाले) को स्वयंसेवक टोली जाजरकोट प्रस्थान गरेको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल लगायत नेताहरूले शनिबार पार्टीको केन्द्रीय कार्यालयबाट स्वयंसेवक टोलीलाई विदाई गरे ।

एमालेका केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय विपद व्यवस्थापन तथा स्वयं सेवा विभागका प्रमुख किरण पौडेलको नेतृत्वमा स्वयंसेवक टोली जाजरकोट प्रस्थान गरेको हो ।

अध्यक्ष ओलीले स्वयंसेवक टोलीलाई राष्ट्रिय झण्डाका साथै बन्दोवस्तीका सामानहरू ज्याकेट, हेल्मेट, अस्थायी घरटहरा निर्माणका लागि आवश्यक औजार लगायत सामग्री प्रदान गरी टोलीलाई विदाई गरेका थिए ।

नेकपा (एमाले) को गत कात्तिक २२ गते बसेको २५औँ सचिवालय बैठकले कात्तिक १७ गते राती गएको भूकम्पले ठूलो क्षति पुर्याएका जाजरकोट र रुकुममा एकहजार जना स्वयंसेवक पठाउने र भूकम्पका कारण घर भत्केर त्रिपालमुनि बसेका जनताका लागि न्यानो अस्थायी घरटहरा बनाउने निर्णय गरेको थियो ।

सोही बमोजिम स्वयंसेवक टोली जाजरकोट प्रस्थान गरेको हो । स्वयंसेवक टोलीले केही राहत सामग्री पनि लिएर गएको छ ।यस अघि एमालेको जनसंगठन नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)ले जाजरकोटमा भूकम्पले भत्काएका, क्षति पुर्याएका घरहरूका भग्नावशेष व्यवस्थापनको काम शुरु गरिसकेको छ । पार्टीका पोलिटव्यूरो सदस्य तथा जिफण्टका महासचिव विनोद श्रेष्ठको नेतृत्वमा भग्नावशेष हटाउने काम शुरु गरिएको हो ।

नेकपा (एमाले)ले २०७२ सालको विनाशकारी भूकम्पका समयमा पनि भूकम्प पीडितका लागि अस्थायी घरटहरा निर्माण गर्न स्वयंसेवक परिचालन गरेको थियो ।

   

प्रकाशित मिति : ३ मंसिर २०८०, आईतवार १५:०९