३० असार २०८१, आईतवार | Sun Jul 14 2024

पच्चिस वर्षपछिको जनकपुरधामबारे चर्चा


२ मङ्सिर, महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा मधेस मानसको आयोजनामा भएको वैचारिक बहसमा २५ वर्षपछिको जनकपुरधामका बारेमा चर्चा भएको छ । जनकपुरधामको गङ्गासागर डिलमा भएको बहसअन्तर्गत पहिलो सत्रका वक्ताहरुले २५ वर्षपछिको जनकपुरधामबारे चर्चा गरेका थिए ।
कार्यक्रममा जनकपुरधामका नगर प्रमुख मनोजकुमार साहले अबको २५ वर्षपछि जनकपुरधामलाई नयाँ रिङ्गरोडमा समेटेर जनकपुरधाम–अयोध्यासम्मको रेलसेवा, राजर्षिजनक विश्वविद्यालयको विस्तार, खानेपानी, पार्क र हराभरा वातावरणका लागि वृक्षारोपणलगायत विविध विषयको कल्पना गरेका छन् ।
उपप्रमुख किशोरी साहले नगरलाई सफा, सुन्दर र हराभरा बनाउनुपर्ने भन्दै यहाँ धेरै सुधारका काम भएको र अझै गर्नुपर्ने धेरै भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताए । मधेस प्रदेशअन्तर्गत खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले प्रदेशलाई सहयोग गर्ने विषयमा सङ्घीय सरकार बाधक रहेको भन्दै अझै पनि केन्द्रीकृत सोच हाबी रहेकाले चाहेको जस्तो विकास गर्न नसकिएको बताए ।
कार्यक्रममा प्रा डा भोगेन्द्र झाले अतीत बिनाको योजना काम लाग्न नसक्ने भन्दै योजना बनाउँदा अतीतलाई नबिर्सन आग्रह गरे । उनले जनकपुरधामको विकास गर्दा फराकिलो सोचका साथ दीर्घकालीन र मजबुत योजना बनाउनुपर्नेमा जोड दिए । यहाँ बनाइएका सडक तथा ढलहरु दीर्घकालीन रुपमा मजबुत नरहेको झाको भनाइ थियो । उनले शिक्षा बिना कुनै पनि योजना अधुरा हुने भन्दै शिक्षाका क्षेत्रमा दीर्घकालीन र प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
‘मधेसको निराशा भित्र लुकेको आशा’
दोस्रो सत्रका वक्ताहरुमध्ये पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादवले सङ्घीयता मधेसका लागि अपरिहार्य रहेको भन्दै यसको अर्को विकल्प नरहेको बताए । उनले सङ्घीयता पक्ष शक्तिहरु विकास, निर्माणका पक्षमा भन्दा अन्य विवादमा फसेकाले समस्या देखिनुका साथै कतिपयमा असन्तुष्टि देखिएको धारणा राखे ।
कार्यक्रममा मधेस आन्दोलनका अगुवा विभा ठाकुर र सरोजकुमार मिश्रले जनताले सपनामा देखेको सङ्घीयता र अहिलेको सङ्घीयता फरक रहेको बताउँदै विकासका लागि सङ्घीयता मात्रै विकल्प नभएको बताए । उनीहरुले मधेस आन्दोलनका अगुवा युवाहरुको अवस्था अहिले कमजोर बन्दै जाँदा पनि मधेस केन्द्रित दललाई कुनै प्रभाव नपरेको गुनासो राखे । उनीहरुले अहिले युवा पुस्तामा नै सङ्घीयता प्रतिको आकर्षण घट्दै गएको बताए । राजनीतिक विश्लेषक राकेश मिश्रले संविधान निर्माणका क्रममा सङ्घीयता पक्षधर मधेस केन्द्रित दलहरु कमजोरी भएका बताए ।
तेस्रो सत्रका एकल वक्ता विचारक सिके लालले छठ पर्वको समाजिक तथा सांस्कृतिक महिमाको बारेमा बयान गरे । छठ पर्वमा प्रकृतिको पूजा, प्रयोग र पद्धतिका साथै छठले बसाएको समाजिक सद्भाव, एकता, सहयोगलगायत विशेषताको विषयमा चर्चा गरे । लाल छठले देखाएको एकताबाट वर्तमान राजनीतिक दलका नेताले पाठ सिकेर राजनीतिमा पनि सुधार गर्नुपर्ने सुझाव दिए ।
“परम्परागत छठले विभेदको अन्त्य गरिसक्दा पनि वर्तमान राजनीतिक दल र सरकारले किन गर्न सकिरहेको छैन ?”, उनले प्रश्न गरे । छठ पर्वमा पुरोहित वा मन्त्र पढ्ने कुनै पनि सहजकर्ता नरहेको भन्दै लालले यस पर्वमा वर्तालु र प्रकृति, सूर्य देवता र छठी मइयाको बीचमा सिधा संवाद हुने बताए । “छठमा मन्त्र हुँदैन”, उनले भने, “लोकगीत र जनहित हुने पर्व हो यो ।”
समाजमा ठूला र साना जातको वर्गीकरण रहेको अवस्थामा छठले सबैलाई एक ढिक्का पारेकाले यो पर्व वर्ण र लिङ्ग विमुख्त पर्व रहेको लालको भनाइ थियो । उनले भने, “पहिला आफूलाई ठूला जात भन्नेले छठ गर्थेनन् । पछि बग्दै गरेको नदीमा गर्न थाले र पानीको बहावअनुसार स्थान व्यवस्थापन गर्थे । पछि पोखरीमा पनि छठ हुन थालेपछि विभेद आफैँ समाप्त भयो र छठ पर्वका रुपमा मनाइन थालियो ।”
तिनै सत्रको सहजीकरण मधेस मानसका अगुवा मनोज साह, नवीन झा र अनुज मिश्रले गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार १३:३५