११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

काभ्रेपलान्चाेकमा एक हजार परिवार ४३ वर्षदेखि पूर्जाविहीन

२५ कात्तिक,काभ्रेपलान्चाेक, । काभ्रेपलान्चाेकको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको दुईवटा वडाका करीब एक हजार परिवार ४३ वर्षदेखि लालपूर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा रहेको खेतीयोग्य जमीनबारे विवादपछि भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपूर्जाविहीन बन्न पुगेका थिए ।

५ र ८ नं वडाका ५८९ पीडित परिवारसँग ४३ वर्षदेखि आफ्नो जमीनको लालपूर्जा नभएको ८ नं वडाध्यक्ष मोतिलाल तामाङले बताउनुभयो । उहाँका अनुसार लालपूर्जाविहीन भूकम्पपीडितलाई दुई वर्षपछि मात्रै सरकारी राहत अनुदान उपलब्ध गराइएको हो ।

तामाङले भन्नुभयो, “दुई वर्षपछि सरकारी आवास निर्माण राहत अनुदान उपलब्ध गराइएपछि यहाँका भूकम्पपीडितले घर बानाउन थालेका हुन् ।” अन्तर वडा सीमा विवाद मिलाउन तथा जग्गाको लालपूर्जा प्राप्तिका लागि वडाध्यक्ष तामाङको संयोजकत्वमा गत साता समिति गठन गरिएको छ । गत साता भुम्लु पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग स्थानीयवासीले जग्गाको लालपूर्जाको समस्या सुल्झाउन आग्रह गर्दा उहाँले ‘उच्चस्तरीय भूमि व्यवस्थापन आयोग’ निर्माणपछि समाधान हुने आश्वासन दिनुभएको थियो ।

हाल गाउँपालिकाको वडा नं ७ र ८ मा २५० घर निर्माणाधीन अवस्थामा छन् । जग्गाधनीले जमीन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इञ्जीनियरले दिएको निस्साका आधारमा गत वर्षको कात्तिकमा सरकारले आवास निर्माण अनुदान उपलब्ध गराएको हो । यसअघि लालपूर्जाविहीन भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाएका थिएनन् ।

सरकारले लालपूर्जाविहीन पीडितको समस्यालाई मध्यनजर गर्दै गत भदौमा आवास निर्माणसम्बन्धी कार्यविधि तयार गरेपछि यहाँका करीब एक हजार लालपूर्जाविहीन पीडितले किस्ताबन्दीमा सरकारी अनुदान लिएर घर बनाउन पाएका हुन् । हाल वडा नं ७ मा ५० तथा वडा नं ८ मा ३५ घर बनिसकेका छन् ।

गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले लाभग्राहीको सूचीमा ६७ परिवार छुटेको जानकारी दिनुभयो । उहाँले ३८ पीडितको बस्ती जोखिमपूर्ण अवस्थामा रहेकाले गाउँपालिकाभित्रै अन्यत्र स्थानको खोजी कार्य भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : November 11, 2018 at 6:25 pm