८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी सम्मानित

२७ कात्तिक, काठमाडौँ । चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज सम्मानित भएकी छिन् । एसएस फाउन्डेसनद्वारा आज आयोजित खेलाडी सम्मान कार्यक्रममा रजतपदक विजेता खेलाडी एरिकालाई सम्मान गरिएको हो ।

सम्मानस्वरुप उनले रू ३१ हजार पुरस्कार प्राप्त गरिन् । एरिकाले गत असोजमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला ६८ केजी तौल समूहमा नेपाललाई रजतपदक दिलाएकी थिइन् ।

एशियाली खेलकुदको इतिहासमा नेपालका लागि एरिकाले तेस्रोपटक रजतपदक दिलाएकी हुन् । त्यस्तै एशियाली खेलकुदमा नेपालले कराँते खेलमा भने पहिलो रजतपदक जितेको थियो । यसअघि तेक्वान्दो खेलबाट सविता राजभण्डारी र प्याराग्लाइडिङ टिमले रजतपदक जितेको थियो ।

एरिकाले मेहनत गरे सफलता हासिल गर्न सकिन्छ भन्ने मनोबलले यो पदक दिलाएको भन्दै यस किसिमको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताइन्। उनले आगामी दिनमा खेल क्षेत्रमा अझ उत्कृष्ट खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

कार्यक्रममा कराते खेलका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ पनि सम्मानित भए । सम्मानस्वरुप उनले रू ३१ हजार प्राप्त गरे । उनले नेपाली खेलाडीको रगतमा साहस र वीरताको प्रतिक रहेको भन्दै मार्सल आर्ट खेलले सफलता भित्र्याउँदै आएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद पशुपति शम्शेर जबराले आमनेपाली जनतालाई तिहार र छठको शुभकामना दिँदै नेपालले अन्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न नसके पनि खेलकुद क्षेत्रमा सफलता हासिल गरेकामा खुसी व्यक्त गरे । उनले नेपालकी १९ वर्षीया एरिकाले सानै उमेरमा यस किसिमको सफलता पाउनु गर्विलो विषय भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार १४:३२