२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नुवाकोटको दुप्चेश्वर मावि ५० वर्षमा, विद्यालयको हितमा काम गर्न पूर्व विद्यार्थी संगठित

२६ कार्तिक, नुवाकोट । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा रहेको दुप्चेश्वर माध्यामिक विद्यालय (मावि) ५० वर्षमा प्रवेश गरेको छ । विद्यालय ५० वर्षमा प्रवेश गरेको अवसर पारेर पूर्व विद्यार्थीहरू संगठित भएका छन । विद्यालयको बृहतर हितका लागि काम गर्ने भन्दै उनीहरू संगठित भएका हुन ।

शनिबार विद्यालयकै प्रांगणमा भएको पूर्व विद्यार्थीहरूको भेलाले पुरूषोत्तम कुइकेलको अध्यक्षतामा १३ सदस्यीय पूर्व विद्यार्थी समाज गठन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ आचार्यले दैनिकीलाई जानकारी दिए ।

अध्यक्ष आचार्यले २०४१ सालको व्याचका प्रथम भएका पुरुषोत्तम कुइकेलको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन भएको र समाजको उपाध्यक्षमा अन्जु आचार्य, सचिवमा विजयकुमार तामाङ, कोषाध्यक्षमा सम्झना बिक चयन भएको बताए । त्यस्तै सदस्यहरूमा बिश्वनाथ मैनाली, बसन्त आचार्य, नरहरि आचार्य, शसि पण्डित, रामचन्द्र थापा, मछिन्द्र पाण्डे, शान्ता धिताल, बिरेन्द्र श्रेस्ठ र सरिता पण्डित रहेका छन । ६ महिनाभित्र यो समितिले अधिवेशन गरी नयाँ नेतृत्व चुन्नेछ ।

शनिबारको भेलाको अध्यक्षता व्यवस्थापन समितिका अध्यक्ष आचार्यले नै गरेका थिए । भेलमा पूर्व विद्यार्थीहरूसँगै व्यवस्थापन समितिका सदस्यहरू, पूर्व पदाधिकारी र सदस्यहरू, शिक्षक, अभिभावक संघका पदाधिकारी एवं सदस्यहरू, पूर्व प्रधानाध्यापक एवं शिक्षकहरू सहभागी रहेका थिए । भेलामा अध्यक्ष आचार्यले समाजले देश तथा विदेशमा रहेका सबै पूर्व विद्यार्थी समेटेर विद्यालयको विकासका लागि केन्द्रीत भएर योगदान गर्ने विश्वास व्यक्तग गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आईतवार १२:३८