भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा
१६ कात्तिक, गलेश्वर (म्याग्दी) । शारदीययामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वको रौनकसँगै गाउँघरतिर मेलापर्व चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको याम छ । आकास खुलेको छ । हिमाल टल्कीएका छन् । वर्षा हुन रोकिएको छ । यही मौकामा घुमफिर गर्न र रमाउन सहरतिरका युवायुवती म्याग्दीका पर्यटकीयस्थलमा उक्लिएका छन् भने गाउँका विद्यार्थी, युवा र प्रौढ आफन्तसँग भेटघाट गर्न, घुम्न र रमाउन सहरबजारतिर झरेका छन् । यहाँको भ्रमण संस्कृतिविपरीत मनोविज्ञानमा आधारित छ । समय मिल्यो र मन मिल्ने साथी भएभने भ्रमण गर्ने, रमाउने र मोजमस्ती गर्ने युवा र प्रौढ बढेका छन् । तर, भ्रमण संस्कृतिमा भने विपरीत मनोविज्ञान पाइएको म्याग्दीको पर्यटन र सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका ओमकुमारी शान्ति कोषका पूर्वअध्यक्ष राजेश शाक्यले बताए ।
“घोडेपानी, पुनहिल, टोड्के, झाँक्रीपानी, बेलढुङ्गा, लभ्लीहिललगायतका म्याग्दीका ग्रामीण पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको भीड छ । यी सबै क्षेत्रमा पुगेका अधिकांश पर्यटक सहरबजारबाट गाउँ उक्लिएका हुन्”, शाक्यले भने, “बजार क्षेत्रमा पनि त्यस्तै अवस्था छ, गाउँका युवा, विद्यार्थी र प्रौढहरु घुम्न, रमाइलो गर्न र किनमेल गर्न बजार झरेका छन् ।” पछिल्लो समय नेपालीमा पनि भ्रमण गर्ने संस्कृतिको विकास हुँदै गएपछि पर्यटकीयस्थल विदेशी पर्यटकलाई मात्र कुर्नुपर्ने बाध्यतामा छैनन् । विदेशमा समेत चर्चित बनेका घोडेपानी, पुनहिल र मुस्ताङलाई नै हेर्ने हो भने पनि सन् २०१९ यता विदेशी कम र आन्तरिक पर्यटकहरु बढी पुगेका छन् ।
घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले भने,“घोडेपानीमा अहिले सदरदर दैनिक चारसय बढी पर्यटक पुग्ने र फर्कने गर्दछन् । तीमध्ये ७५ प्रतिशत आन्तरिक पर्यटक हुन् । त्यसमा पनि सहरबजारबाट घुम्न आउने आन्तरिक पर्यटक ९८ प्रतिशत हुने गर्दछन् । ” चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएका उत्तरी म्याग्दीका घोडेपानी, पुनहिल, भुरुङ तातोपानीमा मात्रै होइन पश्चिमी म्याग्दीका टोड्के, बेलढुङ्गा, दरबाङ,लगायतका पर्यटकीयस्थलमा समेत आन्तरिक पर्यटकको भीड लागेको पर्यटन व्यवसायीको भनाइ छ । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रशिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दैनिक तीन सयदेखि पाँचसय जनासम्म आन्तरिक पर्यटक आएका स्थानीय होटल व्यवसायीहरुले बताएका छन् ।
अध्यक्ष पुनका अनुसार यस वर्ष भदौ पहिलो सातादेखि नै घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटक विगतका वर्षका तुलनामा धेरै आएका र दसैँ सुरु भएपछि त्योक्रम झन बढेको हो । दसैँअघि दैनिक एक सयदेखि तीनसय जनासम्म आउने गरेकामा दसैँ मनाएपछि दैनिक पाँच सयसम्म आन्तरिक पर्यटक घोडेपानीमा आएको उनले बताए । विदेशी पर्यटकले धमाधम होटल ‘बुकिङ’ गर्न थालेका उहाँले जानकारी दिनुभयो । अध्यक्ष पुनका अनुसार असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । मुख्य याममा यहाँ दैनिक चार सयदेखि एक हजारसम्म पर्यटक भित्रने गरेको उनले बताए । उनका अनुसार अहिले पर्यटन सिजन सुरु भएपछि विदेशीसँगै आन्तरिक पर्यटकसमेत घोडेपानी आउन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।
यहाँ आउने आन्तरिक पर्यटकमा ९८ प्रतिशत बढी व्यक्ति काठमाडौँ, पोखरा, बागलुङ, बेनीलगायतका सहरी क्षेत्रका हुने गरेका उनको भनाइ छ । म्याग्दीका सबै पर्यटकीयस्थलमा सडक सञ्जालको पहुँच पुगेपछि निजी सवारी साधनमार्फत आन्तरिक पर्यटक ती क्षेत्रमा पुग्न थालेका धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए । ग्रामीण पर्यटनमा ग्रामीण क्षेत्रकै युवामा भने चासो रहेको नपाइएको मङ्गला गाउँपालिका–२ रणबाङका श्रीराम पौडेलले बताए । “गाउँका युवा विदेशमा छन्,रहे बचेका युवाहरुलाई पनि सहरबजार नै रमाइलो लाग्छ, फुर्सद मिल्यो किउनीहरु डुल्न घुम्नका लागि बजारतिर लाग्ने गर्छन्”, उनले भने, “सहरबजारका युवायुवती, प्रौढ, व्यापारी, व्यवसायी र कर्मचारी भ्रमणका लागि गाउँ हुँदै जङ्गलतिर उक्लिने गर्दछन् ।”
सहरबाट घुम्नका लागि गाउँ आएका पर्यटकलाई स्थानीय होमस्टे, स्थानीय खानाका परिकार, दृश्यावलोकन र प्राकृतिक सुन्दरताले लठ्याउने गरेको पर्यटकीय क्षेत्र बेलढुङ्गा नजिकको व्यवसायी गणेश श्रीषले बताए । उत्तरतर्फचाँदी झैँ टल्कने सेता हिमाल । चैत, वैशाखमा राताम्यै फुलेका लालीगुराँस । नागबेली परेको म्याग्दी नदी । जङ्गलको एकान्तमा चिटिक्क परेको स्वर्गाश्रम । धवलागिरि क्षेत्रका दर्जनौँ ग्रामीण बस्ती । बेलढुङ्गाको शिरमा चढेपछि आँखै अगाडि देखिने यस्तो रमणीय दृश्यावलोकनका लागि यहाँ बागलुङ, बेनी, कुश्मा र पोखरादेखि दैनिकरुपमा पर्यटक आउन थालेका उनले बताए । समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटर उचाइमा रहेको बेलढुङ्गामा गत वर्ष करिब सात हजार जना आन्तरिक पर्यटक पुगेकामा यस वर्ष त्यो सङ्ख्या अझै बढ्ने उनको भनाइ छ ।
बेलढुङ्गामा कति पर्यटक आए भन्ने तथ्याङ्क राख्ने आधिकारिक निकाय भने यहाँ छैन । स्थानीयले गाउँको होमस्टेमा बास बस्ने र गाउँका होटल तथा पसलमा चियानास्ता गर्नेको सङ्ख्याका आधारमा कुन वर्ष कति पर्यटक आए भन्ने सङ्ख्या अनुमान गर्नु परेको उनले बताए । बेलढुङ्गाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ हिमशृङ्खला, म्याग्दी नदी, कालीगण्डकीसहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका तीन दर्जन बढी गाउँ, वनजङ्गल, जङ्गली जनावर र पक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका– ३ का वडाध्यक्ष पदमपुनले बताए ।
बेलढुङ्गामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै जान थालेपछि बेनी–३ भकिम्ली र बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका–३ ओखलेबीच विकासका पूर्वाधार निर्माण गर्न होडबाजी नै चलेको स्थानीय युवा टीका पुनले बताए । “यहाँ पहिलापहिला घाँस दाउरा गर्ने, भेडाबाख्रा चराउने र निगालो खोज्ने यहाँ आउँथे, हेर्दाहेर्दै सहरबजारबाट घुम्न र रमाउन थाले”, उनले भने, “गाउँका मान्छेहरु हामीहरु) रमाउन सहर झछौं, सहरका मान्छे गाउँहुँदै जङ्गलतिर उक्लन्छन् ।”
प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १६:३८