८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

नेपाललाई पराजित गर्दै त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि युएईलाई

१० कात्तिक, काठमाडाैं । त्रिदेशीय टी–२० श्रृंखलामा नेपाल यूएईसँग पराजित भएको छ । ​यूएईलाई १६३ रनको लक्ष्य दिएको नेपाल ४ विकेटले पराजित भएको हो ।

१६३ रनको लक्ष्य पछ्याउने क्रममा यूएईका लागि ओपनर महम्मद वासिमले २२ बलमा ४५ रन बनाए । भृत्य अरविन्दले २६ र आर्यान्स शर्माले २५ र बासिल हमादले नटआउट २२ रन बनाए ।

नेपालका फास्ट बलरद्वय करण केसी र सोमपाल कामी महंगा सावित हुन पुगे । केसीले ३.५ ओभरमा ४२ रन दिँदा विकेट लिन सकेनन् । कामी पनि २ ओभरमा २८ रन दिँदा विकेटविहीन भए । गुल्सन झा र अविनाश बोहोराले नेपालका लागि दुई दुई विकेट लिए ।

अन्तिम ओभरमा जीतका लागि यूएईलाई ७ रन आवश्यक थियो । तर अन्तिम एक बल खेल्नु अघि नै यूएईका लागि बासिलले छक्का प्रहार गर्दै त्रिदेशीय सिरिज जिताए ।

१६३ रनको लक्ष्य पछ्याएको यूएईले आक्रामक शुरूआत गरेपनि ६.१ ओभरमा ७१ रन हुँदा पहिलो विकेट गुमाएको थियो । तर १२७ रन जोड्दासम्म १५.४ ओभरमा ५ विकेट लिएपछि नेपाल खेलमा फर्किने बाटोमा पनि पुग्यो ।

तर लक्ष्य चुनौतीपूर्ण नहुँदा नेपाली बलरले उपाधि जोगाउन सकेनन् । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेतलले आक्रामक शुरूआत गरेका थिए । भुर्तेलले २९ बलमा ५० रन बनाए । करण केसीले नटआउट २३ र दीपेन्द्रसिंह ऐरीले २० रन बनाउनुबाहेक अरु ब्याटरले प्रभावशाली इनिङ खेल्न सकेनन् ।

यूएईका लागि आयन खानले ३, अलि नासिर र जाहुर खानले दुई दुई विकेट लिए । अन्तिम ओभरमा नेपालले जम्मा २ रन मात्रै जोड्दा पनि चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्न नेपाल असफल भएको थियो ।

त्रिदेशीय सिरिजमा नेपालले युएर्ई र हङकङ दुवैलाई दुई दुई खेलमै पराजित गरी फाइनलमा पुगेको थियो । तर हङकङलाई एक खेल मात्रै पराजित गरेर फाइनल पुगेको यूएईले अन्ततः त्रिदेशीय सिरिज नै आफ्नो नाममा लेखायो ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार १५:२४