२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती अाज

२१ कात्तिक, काठमाडाैँ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

देवकोटाले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम समेत गरेका छन । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्मको सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । देवकोटाको सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार ०७:५६