भ्रष्टाचार पखाल्न राजनीतिमा लागेका राजपाका महामन्त्री सिंहविरूद्ध भ्रष्टाचार मुद्दा
२० कात्तिक, काठमाडाैँ । निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्धा लागेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
सहायक वन अधिकृत (रा.प.तृतीय श्रेणी) बिनोदकुमार सिंहले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेकोले उनीउपर कारवाही गरिपाउँ भन्ने व्यहोराको उजुरीपछि आयोगले अनुसन्धान गरेको थियो ।
पूर्वसहायक वन अधिकृत सिंहले आफ्नो नामका साथै आफ्ना परिवारका सदस्यहरुको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिहरुका सम्बन्धमा संकलित तथ्य प्रमाणहरु उपर छानबिन एवं विश्लेषण गरी हेर्दा उनले सार्वजनिक पद धारण गरेको २०४३ फागुन १३ देखि जाँच अवधिमा १ करोड ६० लाख २१ हजार १८ रूपैयाँ त्रियासी पैसा आय आर्जन गरेको देखियो भने सोही अवधिमा उनी तथा उनको परिवारका सदस्यहरूको चल अचल सम्पत्ति सिर्जना एवं शेयर लगानी, बिमा,बैङ्क मौज्दात, लगायतका शीर्षकहरुमा समेत गरी ३ करोड ५१ लाख ८२ हजार ६ सय ४४ रुपैयाँ ५१ पैसा खर्च गरेको देखिंदा वैध आय १ करोड ६० लाख २१ हजार १८ रूपैया त्रियासी पैसाको तुलनामा १ करोड ९१ लाख ६१ हजार ६ सय पच्चीस रुपैया अठसठ्ठी पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको अख्तियारले जनाएको छ ।

उनको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकाले उनको र उनको परिवारका सदस्यहरु तथा अन्य व्यक्तिहरुका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात देखिएको, बीमा लगायत विभिन्न कम्पनीहरुका शेयर खरिद तथा लगानी गरेको,जग्गा लगायतका चल अचल सम्पत्तिहरु खरिद गरेको देखिन आएको छ ।
वैध आयको तुलनामा स्रोत खुल्न नसकेको रू १ करोड ९१ लाख ६१ हजार ६ सय पच्चीस रुपैया अठसठ्ठी पैसा निजले राष्ट्रसेवक भए पश्चात के कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आयो । तसर्थ बिनोद कुमार सिंह उपर विगो १ करोड ९१ लाख ६१ हजार ६ सय पच्चीस रुपैया अठसठ्ठी पैसा कायम गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
यसका अतिरिक्त सिंहले सार्वजनिक सेवाको पदमा रहेर गैरकानूनी रुपमा आर्जन गरी, स्रोत पुष्टि हुन नसकेको सम्पत्तिहरू श्रीमती गीतादेवी सिंह ,छोराहरु अनुपकुमार सिंह र अचलकुमार सिंहको नाममा राखेको देखिएको हुँदा उनीहरुविरुद्ध पनि मुद्दा दायर गरेको छ । विनोदकुमार सिंह अवकाशपछि राजपाबाट प्रदेश सांसदको दाबेदार थिए । उनलाई पार्टीले समानुपातिक सूचीमा राखेको थियो । तर पछि सांसद नबनाएपछि उनका समर्थकले मधेशी निजामती कर्मचारी मन्चमा रहेको राजपा कार्यालय नै तोडफोड गरेका थिए । पछि राजपा कार्यालय नै नदिने भएपछि उनलाई राजपाले महामन्त्री बनाएको थियो ।
प्रकाशित मिति : 09:36









