२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

कञ्चनपुरमा केरा खेतीबाट मनग्य आम्दानी, वार्षिक ३० लाखसम्मकाे बिक्री

१२ असोज, कञ्चनपुर । वैदेशिक रोजागरीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका मोहन राना केरा खेती गरी गतिलो आम्दानी लिन थालेका छन् ।

तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उनले केरा खेती गर्दै आएका छन् । उनले वार्षिकरुपमा रु २५ लाखदेखि रु ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन् । केरा बिक्रीबाट आएको रकममध्ये रु १० देखि रु १६ लाखसम्म आम्दानी हुने गरेको छ ।

केरा खेती गोडमेल गर्ने मजदुर, रासायनिक मल, सिँचाइमा गरी बाँकी रकम खर्च हुने गरेको छ । केरा खेतीका लागि छ जनालाई वर्षभरिनै रोजगारी दिएको राना बताउछन् । छ बिघा जग्गामा रानाले जि नौ उन्नत जातको केरा खेती गरेका छन् । छ बिघा जग्गामध्ये डेढ बिघा जग्गा मात्रै रानाको आफ्नो स्वामित्वको हो । बाँकी साढे चार बिघा जग्गा रानाले प्रतिबिघा वार्षिकरुपमा रु ८० हजार तिर्ने गरी भाडामा लिएका छन् ।  व्यापारीले बारीमा आएर केरा खदिर गरी लैजाने गरेका छन् ।

वर्षमा उनले दश ट्रक बढी केरा बिक्री गर्दै आएका छन् । केरा थोकमा प्रतिदर्जन रु ४५ मा बिक्री हुने गरेको छ । चाड पर्वमा माग बढ्दा केरा प्रतिदर्जन रु ५० देखि रु ६० सम्म पुग्ने गर्दछ । “घरमा बेरोजगार हुँदा पाँच वर्षअघि गतिलो कमाइ गर्ने लक्ष्य राखेर मलेसिया पुगे”, किसान रानाले भने, “वैदेशिक रोजगारीमा जाँदा रु दुई लाख कर्जा लाग्यो, धेरै कमाउने लक्ष्य राखे पनि निश्चित तलव पाइन्थ्यो, त्यो तलबले घरधन्दा धान्नै मुस्किल हुन थाल्यो, लागेको कर्जामध्ये तीन वर्षमा रु ६० हजार मात्रै तिर्न सकियो, रु एक लाख ४० हजार तिर्न पाउने तलवबाट भ्याएन ।”

खाना खर्च, लत्ताकपडामै सबै रकम सिद्धिने गरिएको उनले बताए । “बाँकी रहेको रु आठ हजार घर उहाँ पठाउनुहुन्थ्यो । त्यो रकम घर खर्चमै सकिन्थ्यो । सोचेको पूरा नभएपछि जेनतेन तीन वर्ष पूरा गरी राना घर फर्किए । कर्जा लिएर वैदेशिक रोजागरीमा गएको रकम माग्न साहुले निकै दबाब दिन थाले । कर्जाको रकम तिर्ने कुनै उपाय नभएपछि स्वामित्वको जग्गामा रानाले केरा खेती गर्न थाले । “चार कट्ठा जग्गामा पहिलो वर्ष केरा लगाए”, उनले भने, “दाजुले घरमै केही केराका बोट रोप्नुभएको थियो, त्यही बोट बारीमा व्यवस्थित तरिकाले लगाएर रु एक लाख ८० हजार जति आम्दानी भयो ।”

पहिलो वर्षको केरा खेतीको कमाइले कर्जा तिर्न भ्याइएपछि स्वामित्वको डेढ बिघा जग्गामा केरा खेतीलाई विस्तार गरेपछि उनले दोस्रो वर्ष रु १५ लाख बढीको केरा बिक्री गर्न भ्याए । “केरा खेतीबाट गतिलो आम्दानी हात लाग्न थालेपछि अरुको जग्गा लिजमा लिन थाले”, रानाले भने, “त्यसपछि आम्दानी बढ्दै गयो, आम्दानी हुन थालेपछि घरका सबै जनाले केरा खेतीमा सघाउ पुर्याउन थालेका छन् ।”

केरा खेतीमा लागेका किसान रानालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रु छ लाख अनुदान रकमसमेत उपलब्ध गराइएको छ । मुर्रा भैँसीको फार्म खोल्ने र केरा खेतीलाई अझै विस्तार गर्ने भावी योजना रानाले बनाएका छन । राना भन्छन्, “वैदेशिक रोजगारीभन्दा घरमै बसी उद्यम गरे तेब्बर बढी आम्दानी गर्न सकिन्छ, लगनशीलता, परिश्रम र निरन्तरता बनाउन सक्नुपर्छ, थोरै पुँजीबाट विस्तारै धेरै ठूलो व्यवसाय सञ्चालन गर्न सकिन्छ, त्यसका लागि धैर्यता आवश्यक छ ।”

वडाध्यक्ष नवलसिंह राना मोहनले गरेको प्रगतिबाट पाठ सिक्दै अन्य युवाले वैदेशिक रोगारीमा जानुभन्दा स्वदेशमै बसेर व्यावसायिक कार्यमा संलग्न हुनुपर्ने बताउछन् । नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐर मोहन नगरपालिका क्षेत्रकै व्यावसायिकरुपमा केरा खेती गरी बढी आम्दानी लिने किसानका रुपमा रहेको बताउछन् ।

प्रकाशित मिति : September 29, 2023 at 1:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/