२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

१२ करोडको सिमा संशोधनको लागि राष्ट्र बैंक छलफलमै, सेयर कर्जाबारे अझै भएन निर्णय

१० असाेज, काठमाडौं । सेयर धितो कर्जामा लगाइएको १२ करोड रुपैयाँको सिमा स‌ंशोधनको लागि नेपाल राष्ट्र बैंक अझै आन्तरिक छलफलमा नै देखिएको छ। राष्ट्र बैंकको सञ्चालक समितिको आज बसेकाे बैठकमा यस विषयमा कुनै निर्णय नै हुन सकेन।

राष्ट्र बैंकको बुधबार बसेकाे सञ्चालक समितिको बैठकमा पनि सेयर धिताे कर्जाको सिमा सम्बन्धि एजेण्डा नराखिएको राष्ट्र बैंक सञ्चालक समितिका एक सदस्यले बताए।

यो आन्तरिक छलफलमै रहेको राष्ट्र बैंक स्रोतले जनाएकाे छ । ‘बुधवार पनि राष्ट्र बैंकको बोर्ड बैठक बसेको थियो । तर, सेयर धितो कर्जाको सिमा संशोधन गर्ने वा हटाउने भन्ने विषयमा कुनै पनि निर्णय हुन सकेन’ ती सदस्यले भने । सेयर धितो कर्जाको विषय नै बैठकमा नआएको उनले बताए ।

यति यतिबेला सेयर धितो कर्जाको विषय चर्चामा छ । अर्थमन्त्रालयले पनि सेयर कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन जोड दिइरहेका छन् । राष्ट्र बैंकले पनि सेयर कर्जामा लगाएको सीमा हटाउने वा संशोधन गर्ने भन्ने विषयमा निर्णय नगरेपनि सम्वन्धित निकायसँग छलफलमा जुटिरहेको छ ।

केन्द्रीय बैंकको बोर्ड बैठकमा सेयर बजारका मुद्दाले प्रवेश नै नपाएपछि त्यसको प्रभाव बुधबारको बजारमा देखिएको छ । बुधबारकै सञ्चालक समिति बैठकमा सेयर धितो कर्जा तथा जोखिम भार लगायतका विषयमा निर्णय हुने र  छिटो नै सर्कुलर आउन सक्ने अपेक्षामा बसेका लगानीकर्तामा केही निराशा देखिएको छ । यो समाचार तयार पर्दासम्म (करिब १ बजेर ५२ मिनेट जाँदा) नेप्से सूचक २१.१९ अंकले घटिसकेको छ । बजार बन्द हुने समयसम्म अझ कति अंककाे गिरावट आउने हाे भन्न सकिने अवस्था छैन ।

प्रकाशित मिति : September 27, 2023 at 1:54 pm